काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सिर्जना भएको सामाजिक तनावप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
अध्यक्ष दाहालले नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनैपनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
राष्ट्रिय सभा संविधान, लोकतान्त्रिक मूल्य र सामाजिक सद्भावको संरक्षणमा सदैव प्रतिबद्ध रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र साम्प्रदायिक सद्भाव अक्षुण्ण राख्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । उहाँले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी उपाय अवलम्बन गर्न र घटनाको यथार्थ विवरण सार्वजनिक गरी शान्ति र विश्वासको वातावरण कायम गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यस संवेदनशील घडीमा उहाँले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई राष्ट्रिय हितलाई सर्वोपरी राखी शान्ति र भाइचाराको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो । सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक र उत्तेजक सामग्रीको प्रचारप्रसार नगरी प्रमाणित र आधिकारिक सूचना मात्र संप्रेषण गर्न उहाँले अनुरोध गर्नुभएको छ । अध्यक्ष दाहालले संविधानको मर्म र सामाजिक सद्भावको संरक्षणमा राष्ट्रिय सभा सदैव अग्रसर रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।











