काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले देशमा पटक–पटक दोहोरिँदै आएका साम्प्रदायिक तनावका घटनाबारे गहिरो अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद खालिदले साम्प्रदायिक उन्माद कुनै पनि समाज र राष्ट्रका लागि घातक हुने बताउँदै यस्ता घटनाको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सुनसरी, सिराहासहित मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव नियन्त्रण गर्न राज्यको प्रतिक्रिया ढिलो भएको टिप्पणी गर्नुभयो । सरकारले अहिले देखाएको संवेदनशीलता दुई दिनअघि नै देखाएको भए अवस्था थप जटिल बन्नबाट रोक्न सकिने उहाँको दाबी थियो ।
तराई–मधेश क्षेत्रमा बारम्बार यस्ता घटना दोहोरिनुको कारणबारे गम्भीर अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै सांसद खालिदले कुनै एक समुदायलाई दोषारोपण गर्नु उपयुक्त नहुने बताउनुभयो ।
उहाँले सामाजिक सद्भाव कायम गर्न भूमिका खेलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रशंसा गर्दै धन्यवादसमेत दिनुभयो ।
सांसद खालिदले नागरिकको सुरक्षा र सामाजिक सद्भावविरुद्ध गतिविधि गर्ने जोसुकै भए पनि राज्यले संवैधानिक सर्वोच्चता र कानुनको शासनका आधारमा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । राज्य यस विषयमा चुके मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको चेतावनी थियो ।
उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले समयमै संवेदनशील भएर प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।
न्यूजपोलार
१५ श्रावण २०८३, शुक्रबार १६:०९
न्यूजपोलार
१५ श्रावण २०८३, शुक्रबार १६:०९
१५ श्रावण २०८३, शुक्रबार १६:०९










