काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा केही दिनअघि भएको दुःखद घटना तथा त्यसपछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैसँग आग्रह गरेका छन्।
संयुक्त अपिलमा विश्व हिन्दू महासंघ, नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा-ए-नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराज कुँयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीको हस्ताक्षर रहेको छ।
सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
अपिलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र आधार भएको उल्लेख गरिएको छ। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा जोड दिइएको छ।
धार्मिक अगुवाहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानूनी कारबाही गर्न, पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
साथै, धर्मको नाममा हिंसा फैलाउने वा सामाजिक सद्भाव बिथोल्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै नागरिकहरूलाई संयम अपनाउन, उत्तेजनात्मक तथा घृणात्मक गतिविधिबाट टाढा रहन अपिल गरिएको छ।
संयुक्त अपिलमा सबै धर्मले मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचाराको सन्देश दिने उल्लेख गर्दै विभेद र वैमनस्यलाई अस्वीकार गरी सामाजिक एकतालाई थप मजबुत बनाउन सबैको साझा जिम्मेवारी रहेको जनाइएको छ।
धार्मिक अगुवाहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापनामा सक्रिय योगदान दिन पनि आग्रह गरेका छन्।











