७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु



अ+ अ-

बैङ्कक। पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ ।

सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक मध्ये एक मानिएको उक्त घटनामा छ जना सर्वसाधारण पनि घाइते भएका छन्। आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तको बुखे सामी सुरक्षा चौकीमा भएको हो ।

स्थानीय अधिकारीका अनुसार घाइते मध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालकसमेत रहेका छन्। नारथिवाट प्रान्तका गभर्नर बुनचुए होम्यामिनले अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको जनाइएको छ । नारथिबाट प्रशासनले सार्वजनिक गरेको सिसिटिभी तस्बिरमा साँझ करिब ६:४५ बजे कालो पोसाक लगाएका छ जना शङ्कास्पद व्यक्ति कालो पिकअप ट्रकमा घटनास्थल पुगेको देखिएको छ ।

घटनापछि उनीहरू छिमेकी जिल्लातर्फ फरार भएको र सुरक्षा निकायले व्यापक खोजी अभियान सञ्चालन गर्दै क्षेत्रलाई घेराबन्दी गरेको जनाएको छ । थाई सेनाका अनुसार टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सैनिक स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका बेला आक्रमणकारीले चौकीमा अन्धाधुन्ध गोली चलाउनुका साथै पाइप बम प्रहार गरेका थिए र यसका कारण पाँच सैनिकको ज्यान गएको हो ।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन भने कसैलाई पक्राउ पनि गरिएको छैन । थाइल्यान्डका दक्षिणी नारथिवाट, याला र पट्टानी प्रान्तमा सन् २००४ देखि पृथकतावादी विद्रोह जारी छ । मुस्लिम बहुल यी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सक्रिय विद्रोही समूहसँगको हिंसात्मक द्वन्द्वमा हालसम्म सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसअघि सन् २०१९ मा याला प्रान्तको एक सुरक्षा चौकीमा ग्रेनेड र गोली आक्रमण हुँदा स्थानीय सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो । द्वन्द्व सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था एसीएलइडीका अनुसार त्यस घटनामा बारिसन रिभोलुसी नेसनल (बीआरएन) संलग्न रहेको थाई अधिकारीहरूले बताएका थिए ।

एम्नेस्टी इन्टरनेसनलका मानवअधिकार अनुसन्धान कर्ता चानातिप तातियाकरुनवोङले यस क्षेत्रका अधिकांश आक्रमण सुरक्षाकर्मीलाई लक्षित हुने गरे पनि यसपटक सर्वसाधारण, विशेष गरी बालकसमेत घाइते हुनु र मानवीय क्षति बढी हुनु चिन्ताजनक भएको बताउनुभयो । थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने जनाएको छ ।

विपक्षी नेता नात्थाफोङ रुएङपान्यावुतले पनि घटनाको निन्दा गर्दै सरकारलाई सुरक्षा अवस्था तत्काल नियन्त्रणमा लिन, आक्रमणकारीको पहिचान गरी कानूनी कारबाही अघि बढाउन तथा पीडित र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ । रासस/एएफपी