काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले पर्याप्त तयारी र वैकल्पिक व्यवस्थाविना सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीति र असंवेदनशील कार्यशैलीका कारण सुकुमबासी समुदाय गम्भीर संकटमा परेको बताइन्। उनले राज्यको गलत नीतिका कारण भएका यी मृत्युहरूलाई सामान्य घटनाका रूपमा लिन नसकिने उल्लेख गर्दै यसलाई राज्य संयन्त्रबाट भएको ‘संस्थागत हत्या’ को संज्ञा दिइन्।
सांसद गुरुङका अनुसार ज्यान गुमाउनेहरूमा १८ वर्षीय रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी तथा १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेका छन्।
उनले सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले पूर्वतयारी, पुनर्स्थापना र मानवीय संवेदनशीलतालाई बेवास्ता गरेको आरोप लगाउँदै पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति तथा सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।











