सरकारले दक्षिणपूर्वी एसियाका विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका तथा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको जनाएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले २०८३ असार २५ गतेसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरबाट ८३६ नेपालीको उद्धार गरिएको जानकारी दिए।
उद्धार गरिएकामध्ये ७०९ जना कम्बोडियाबाट, ११३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्याण्डबाट रहेका छन्।
प्रवक्ता क्षेत्रीका अनुसार नेपाली दूतावासको निरन्तर पहलपछि कम्बोडिया सरकारले भिसा अवधि नाघेर बसेका नेपालीमाथि लाग्ने भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको छ। यस वर्ष मात्रै ६०२ जना नेपालीको भिसा शुल्क तथा जरिबाना मिनाहा गरिएको उनले बताए।
यस्तै, १ मे २०२६ देखि बैंककस्थित नेपाली राजदूतावासले अनलाइन फाराममार्फत विवरण सङ्कलन गरी राहदानी हराएका नेपालीका लागि निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरेर कम्बोडिया पठाउने व्यवस्था सुरु गरेको पनि उनले जानकारी दिए।
प्रवक्ता क्षेत्रीले कम्बोडियामा उद्धारपछि पनि नेपाल फर्किन अनिच्छुक रहेका नेपालीका परिवारजनमार्फत उनीहरूलाई स्वदेश फर्किन आग्रह गरिएको बताए। साथै, दक्षिणपूर्वी एसियामा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ सेन्टरमा नेपाली नागरिक नफसून् भन्ने उद्देश्यले उद्धारसँगै जनचेतनामूलक अभियान पनि निरन्तर सञ्चालन भइरहेको उनले उल्लेख गरे।











