काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रश्तावित व्यक्ति र उजुरीकर्ताबीचको छलफल एकै दिन गर्न प्रस्ताव गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न विहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अघिल्लो संसदीय सुनुवाइको अनुभव उल्लेख गर्दै उहाँले उजुरीकर्तासँगको छलफल र प्रश्तावित व्यक्तिसँगको प्रश्नोत्तर एउटै दिन सञ्चालन गर्दा प्रक्रिया बढी प्रभावकारी हुने बताउनु भयो ।
यसो गर्दा उजुरीका विषयवस्तु पुनः सम्झिरहनु नपर्ने र छलफल थप व्यवस्थित हुने उहाँको भनाइ थियो । उहाँले आवश्यक परेमा त्यसपछिका निर्णयका लागि छुट्टै बैठक राख्न सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो सुनुवाईबाट मेरो अनुभवमा हामीले उजुरीकर्तासँग गर्ने भेटघाट, छलफल र सम्बन्धित प्रश्तावित व्यक्तिसँग गर्ने चाहिँ एकै दिनगर्दा त्यो प्रभावकारी हुँदो रहेछ । किनभने हामीले के लेखेको थियो, के उजुरी थियो भनेर सम्झिराख्नु परेन । उजुरीकर्तासँगको छलफल र प्रश्तावित व्यक्तिसँगको छलफल एकै दिन प्रभावकारी रूपले गरौँ । आवश्यक परेमा फेरिपछि अर्को बैठकमा छलफल गरेर निर्णय गर्न पनि सकिएला । तर उजुरीकर्ता र प्रस्तावित व्यक्तिको छलफल चाहिँ एकै दिन प्रभावकारी रूपले गरौँ भन्ने प्रश्ताव राख्न चाहन्छु ।’
उहाँले समितिको बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न गर्न आग्रह गर्नुभयो । भर्चुअल बैठक सञ्चालन गरिएमा समयको बचत हुने, सदस्यहरूले घरबाटै आवश्यक अध्ययन गरेर बैठकमा सहभागी हुन सहज हुने उहाँको भनाई छ । उहाँले बैठकका लागि आवश्यक कागजात पनि डिजिटल प्रतिमार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । –











