दाङ। दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी १० वर्षीया आशिका घर्ती रहेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु हुने बालिका सुनपुर सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
आज बिहान आशिका दिदीसँग घरबाट विद्यालय गएकी थिइन्। उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब ५०० मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसिन् र पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै बालिकाको खोजीको लागि सुरक्षाकर्मी खटिएका थिए ।
प्रहरीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बालिकाको शव दिउँसोे तालबाट निकालेको थियो । रासस











