काठमाडौं । नेपाली समाजमा वर्षौदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ । शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो ।
तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् रु सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ । जनताबाट विश्वासको मत पाएर निर्वाचित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो ।
विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् ।
तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका महरा यौन दुव्र्यवहारको आरोपपछि हाल प्रहरी हिरासतमा छन् । उनीमाथि प्रहरीले हिरासतमा नै राखेर अनुसन्धान अघि बढाइरहेको छ । महरालाई अनुसन्धान गर्न थप गरिएको पछिल्लो म्याद आज (बिहीबार) सकिँदै छ ।महरापछि नेपाली कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद अफताब आलम समेत प्रहरी हिरासतमा पुगेका छन् । उनीमाथि १२ वर्षअघि पहिलो संविधानसभा चुनावका समयमा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग छ ।
प्रहरीले कांग्रेस सांसद आलमलाई २६ असोजमा रौतहटबाटै पक्राउ गरेको थियो । उनीमाथि समेत जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर अनुसन्धान हुँदै छ । नेपाल प्रहरीका पूर्वएआईजी गंगा पाण्डे लोकतान्त्रिक देशहरूमा कानुनभन्दा माथि कोही नहुने र गल्ती गरेपछि कानुनी दायरामा आएर सजायको भागी हुनैपर्ने बताउँछन् । ‘लोकतान्त्रिक देशमा कानुनभन्दा माथि कोही हुँदैन, गल्ती गरेपछि ढिलोचाँडो कानुनी दायरामा आउनैपर्छ, कानुन कार्यान्वयन गर्ने निकायबाट त्यो किसिमको भेदभाव हुनु पनि हुँदैन,’ पूर्व एआईजी पाण्डेले भने ।
सांसद पक्राउकै शृंखलामा अर्को पात्र राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्र्वािचत प्रमोदकुमार साहसमेत बनेका छन् । उनलाई प्रहरीले २८ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले साहलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले जनकपुरमा नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनलाई काठमाडौं विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो ।
गत सोमबार जनकपुर विमानस्थलमा ११ः४० बजे आउनुपर्ने विमान डेढ बजेसम्म नआएको र यसमा कर्मचारीको लापर्बाही रहेको भन्दै आक्रोशमा आएका सांसद साहले तोडफोड तथा कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । नागरिक उड्डयन कार्यालय जनकपुरको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । यसैगरी, राजपाका सांसद रेशमलाल चौधरीसमेत हाल जेल सजाय भोगिरहेका छन् । उनलाई टीकापुरमा भएको जघन्य हत्याको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।
उनी प्रतिनिधिसभा निर्वाचनका क्रममा राजपाका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा समेत हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । सो मुद्दाको सुनुवाइ पटकपटक सर्दै आएको छ । सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेलसमेत आठ जनाले निवेदन दायर गरेका थिए ।
२२ चैत २०७२ मा सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले ७ मंसिर २०६९ मा रिट निवेदन दायर गरेकी थिइन् । सो रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदै छ । यसैगरी जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न रहेका पूर्वसांसद तथा राज्यमन्त्री सञ्जय शाहलाई जन्मकैदको फैसला भइसकेको छ ।
सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न दोलखा प्रहरीले ३५ दिने म्याद जारी गरेको छ । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले २२ दिनअघि अर्थात् ८ असोजमा नै पक्राउ पुर्जी तामेल गरेको हो । उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले २९ वैशाख २०७६ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका थिए । २०७४ वैशाखको स्थानीय निर्वाचनका समयमा खड्कामाथि राजधानीको गौशालामा आक्रमण भएको उजुरीमा उल्लेख छ । राजधानी दैनिकबाट