काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो ।
तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसद्मा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । उनले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् । उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’
महराको भनाइसँग नेकपाका प्रमुख सचेतक देव गुरुङको धारणा पनि मिल्न गएको छ । प्रमुख सचेतक गुरुङले महरा नेकपामा नरहेकाले पार्टीको सुझाव मान्न बाध्यता नभएको बताए । ‘सभामुखमा चयन भएपछि उहाँले पार्टीबाट राजीनामा दिनुभएको थियो । पछि फेरि उहाँ पार्टीमा जोडिनुभएको थाहा छैन,’ उनले भने, ‘पार्टीमै नभएका व्यक्तिलाई नेकपाले सुझाव दिने हो, दबाब दिन वा निर्देशन दिन मिल्दैन ।’ सभामुख र उपसभामुख नियुक्त हुँदा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी थिए ।
तत्कालीन माओवादी केन्द्रका तर्फबाट महरा सभामुख बनेका थिए भने एमालेबाट डा. शिवमाया तुम्वाहाम्फे उपसभामुख बनिन् । सभामुख र उपसभामुखको निर्वाचन हुँदा कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको थिएन भने उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाएको थियो । सभामुख र उपसभामुख निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै कांग्रेसले संसद्मा आवाज उठाएको थियो ।
सभामुख र उपसभामुख निर्वाचनका क्रममा दुवैले आ–आफ्नो पार्टीबाट राजीनामा बुझाएर आफूहरू स्वतन्त्र रहेको सार्वजनिक गरेका थिए । यस्तो हुँदा अहिले उपसभामुख रहेकी डा.तुम्वाहाम्फेले पनि पार्टीबाट राजीनामा दिएकाले स्वतन्त्रको हिसाबमा हेर्ने हो भने नेकपाले सभामुखमा पुनः आफ्ना तर्फबाट उम्मेदवार बनाउन सक्नेछ । पार्टीको कुनै सदस्य नभएको व्यक्तिले पार्टीको ह्वीप वा निर्देशन अथवा सुझाव मान्न बाध्यता नभएको भन्दै सांसदबाट राजीनामा दिन महरा तयार छैनन् ।
१२ असोज राति संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीको घरमा गएर यौन दुव्र्यवहार गरेको आरोप महरामाथि छ । १४ असोजमा नेकपा सचिवालयको बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । निर्णय आएकै दिन उनले सभामुखबाट राजीनामा दिए पनि सांसद पदबाट राजीनामा दिएनन् । उनी पुनः संसद्मा फर्किने आसमा देखिन्छन् । उनी निकट स्रोतले भन्यो, ‘महरा सरले न्याय पाउनुहुन्छ, उहाँमाथि लागेको आरोप गतल साबित हुनेछ र उहाँ पुनः संसद्मा आउनुहुन्छ ।’
महरा पक्राउ पर्नेबित्तिकै संसद सचिवालयले उनको सेवा सुविधा सबै रोक्का गरेको छ । तर, निलम्बन गरेको छैन । नेपालको संविधान, २०७२ को धारा ८७ अनुसार नैतिक पतन नदेखिने कसुरमा सजाय नपाएको व्यक्ति संघीय सांसद हुन सक्ने उल्लेख छ । अहिलेसम्म महारामाथि लागेको अभियोग पुष्टि भएको छैन । जुन दिन अभियोग पुष्टि हुन्छ, त्यो दिन सांसद पद स्वतः जान्छ । त्यही भएर उनले आफ्नो सांसद पदबाट राजीनामा नदिएका हुन् । उनीमाथि लागेको आरोप गलत ठहरिए सांसद पदमा फर्किनेछन् ।
यदि, अहिले नै राजीनामा दिइहाले भने मुद्दा जितेपछि पुनः बहाली हुन सक्दैनन् । उनले सोही व्यवस्था सभामुखमा पनि राखेका थिए । छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको उनले घोषणा गरेका थिए । अभियोग प्रमाणित नभए सभामुखमा पुनः फर्किने उनको सोच थियो । तर, राजीनामा आउँदा आलोचना हुन थालेपछि उनले राजीनामा पत्र नै सच्याएर बुझाएका थिए । राजधानी दैनिकबाट