३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधारको आवश्यकता औँल्याउनुभएको छ ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि धारणा राख्दै उहाँले बजेट वक्तव्य र विनियोजनका पुस्तिकाहरू अध्ययनका लागि पर्याप्त समय नदिइएकोमा आपत्ति जनाउनुभएको हो ।

उहाँले राष्ट्रिय योजना आयोग र नीति प्रतिष्ठानसँगै अर्थ मन्त्रालयको समेत पुनर्संरचना गर्नुपर्ने धारणा राख्नुभयो । सांसद तामाङले अर्थ मन्त्रालय अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) का लागि विनियोजित बजेटप्रति असहमति प्रकट गर्नुभएको छ ।

ऐतिहासिक सुगौली सन्धि र सन् १९५० को असमान सन्धिलाई नवउपनिवेशवादको संज्ञा दिँदै उहाँले एमसीसीलाई पनि सोही प्रकृतिको राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने सम्झौताको रूपमा चित्रण गर्नुभयो । नेपालको सार्वभौम अधिकार र स्वाभिमान रक्षाका लागि भन्दै उहाँले एमसीसीका लागि विनियोजित बजेट कटौती गरी १ रुपैयाँ मात्र कायम गर्न प्रश्ताव गर्नुभयो ।

आर्थिक नीतिको सन्दर्भमा सांसद तामाङले शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएको करको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य र शिक्षामा अत्यधिक कर लगाउनु भनेको पश्चगामी कर नीति (रिग्रेसिभ ट्याक्स पोलिसी) हो । यसले गरिब जनताको ढाड सेक्ने काम गर्छ ।’

हरित अर्थतन्त्रको नारा दिइए पनि बिजुलीमा भ्याट लगाउनु औद्योगिक विकासको सिद्धान्त विपरित रहेको उहाँको तर्क थियो । उहाँले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकका क्षेत्रमा लगाइएका करहरू फिर्ता लिन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

बजेटको आकार र खर्चको संरचनामाथि प्रश्न उठाउँदै तामाङले प्रशासनिक खर्च कुल बजेटको ५० प्रतिशत पुग्नु अर्थतन्त्रका लागि गम्भीर चुनौती भएको बताउनु भयो । औद्योगिक क्षमताको न्यून उपयोग, बैंकमा मौज्दात रहेर पनि ऋण प्रवाह नहुनु र आयकरको न्युन पालनाले अर्थतन्त्र चलायमान हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । वर्तमान बजेटलाई उहाँले नवउदारवादको दोस्रो संस्करणको संज्ञा दिनुभयो ।

भौगोलिक सन्तुलनको अभाव रहेको दाबी गर्दै सांसद तामाङले कोशी प्रदेशका भोजपुर र खोटाङ जस्ता जिल्लालाई समेट्ने अरुण र दूधकोशी उपत्यकाका योजनाहरू बजेटमा उपेक्षित भएको बताउनु भयो । साथै, पूर्वाधार विकासका लागि सांसदहरूले सिफारिस गरेका योजनाहरू रातो कितावमा नसमेटिएकोमा उहाँले आश्चर्य प्रकट गर्नुभयो ।

सांसद तामाङले सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको मातृभाषाको समाचार र कार्यक्रमको कटौतीप्रति पनि सरकारको आलोचना गर्नुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत करारका कर्मचारीहरूलाई हटाएको र बजेट कटौती गरेको भन्दै उहाँले मातृभाषाका कार्यक्रमहरूलाई राष्ट्रिय प्रसारणको प्राथमिकतामा राख्न माग गर्नुभयो । यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा शुन्य बजेट विनियोजन गरिएकोमा आपत्ति जनाउँदै उहाँले सरकारसँग यसको स्पष्टीकरण माग गर्नुभएको छ ।