७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फस्टाउँदै पुष्प व्यवसाय



अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ ।
व्यावसायिक रुपमा नै क्रियाशील व्यवसायीले उत्पादन गरी बिक्री गरेको बाहेक स्थानीय बासिन्दाले आफ्नै घर आँगनमा उत्पादन गरेको फूल प्रयोगमा ल्याएका कारण पनि बजारमा फूलको अभाव नभएको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायीको निरन्तर व्यावसायिक उत्पादन र घरायसी रुपमा पनि घर–आँगनमा गरिएको उत्पादनका कारण यसवर्ष विदेशबाट किनेर ल्याउन नपरेको उपाध्यक्ष दनुवारको भनाइ थियो । उहाँका अनुसार जिल्लामा गतवर्ष ४० हजार फूलको माला खरीद गरी ल्याएकोमा यसवर्ष त्यसरी ल्याउनु नपरेको हो ।

“यसो हुनु भनेको जिल्ला अब फूल उत्पादनमा आत्मनिर्भर हुनु हो”, उहाँले भन्नुभयो,“जिल्लामा नै भएको उत्पादनले माग धान्न सफल भएको छ ।” एशोसिएशनका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठले जिल्लामा नै विभिन्न थरीका फूलखेती गर्दैै आएको भएपनि यसपाली गोदावरी फूल भने सोचेअनुसारले बिक्री नभएको बताउनुभयो ।

“भारतबाट फूलको थुङ्गा बढी आयात भएका कारण हामीले उत्पादन गरेको गोदावरी फूल बिक्रीमा समस्या भयो ।” श्रेष्ठले भन्नुभयो, “संस्थागत रुपमा सरकारलाई व्यवस्थित गर्न स्वदेशी उत्पादनलाई बढावा दिन फूल आयात भन्दा उत्पादन भएकालाई बजारीकरणमा सहज बातावरण बनाइ दिन गरेको आग्रहको सम्बोधन नहुँदा गोदाबरी फूलको बजारमा समस्या भयो ।” जिल्लामा ३० भन्दा बढीले पुष्प व्यवसाय गरिरहेको जनाइएको छ ।

जिल्लाको रोशी गाउँपालिका, धुलिखेलको रविओपी, बनेपा र पाँचखाल नगरपालिकामा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले फूलखेती गर्दै आएका छन् । जिल्लामा १० हेक्टर भन्दा बढी क्षेत्रफलमा फूलको व्यावसायिक रुपमा खेती हुँदैआएको छ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै जिल्लाबाट रु चार करोड भन्दा बढीको कारोवार भएको व्यवसायीले बताएका छन् ।