२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा नेपाल बारको आपत्ति, जिम्मेवार र तथ्यमा आधारित धारणा राख्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

एशोसिएशनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्‌मा प्रश्नोत्तरका क्रममा व्यक्त गरेको धारणा राष्ट्रिय संवेदनशीलता, कूटनीतिक मर्यादा र स्थापित राज्य अडान विपरीत भएको जनाएको छ। सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डताजस्ता अत्यन्त संवेदनशील विषयमा जिम्मेवार पदाधिकारीबाट आएको अभिव्यक्तिले गम्भीर असर पार्न सक्ने भन्दै एशोसिएशनले ध्यानाकर्षण गराएको हो।

विज्ञप्तिमा सीमा तथा भू–भागसम्बन्धी विषय सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय सरोकारको विषय भएकाले यस्ता मुद्दाको समाधान ऐतिहासिक तथ्य, प्रमाण, नक्सा, सन्धि–सम्झौता तथा प्राविधिक अध्ययनका आधारमा मात्र हुनुपर्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय तथा कूटनीतिक अभ्यासअनुसार यस्ता विषय द्विपक्षीय संवाद र प्रमाण–आधारित प्रक्रियाबाट टुंग्याउनुपर्ने धारणा एशोसिएशनले व्यक्त गरेको छ।

नेपाल बार एशोसिएशनले प्रधानमन्त्री शाहको “नेपालले पनि सीमा मिचेको छ” भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रिय हित तथा स्वाभिमानमाथि आँच पुर्‍याउने प्रकृतिको भएको टिप्पणी गरेको छ। साथै, प्राकृतिक कारणले हुने भू–परिवर्तन वा प्राविधिक ‘क्रस होल्डिङ’ जस्ता विषयलाई राज्यस्तरको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नु उचित नहुने पनि एशोसिएशनले स्पष्ट पारेको छ।

एशोसिएशनले आगामी दिनमा यस्ता संवेदनशील विषयमा सरकार अझ जिम्मेवार, तथ्यपरक र संयमित ढङ्गले प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ। साथै, नेपालको एक इञ्च पनि भूमि कसैलाई छोड्न नसकिने राष्ट्रिय अडानमा नेपाल बार एशोसिएशन दृढ रहेको जनाएको छ।