११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
अ अ+ अ-

इलाम। इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ ।

“हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भन्नुभयो, “दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैँसी चराउनेहरु ढाप पोखरी (अन्तु पोखरीको पुरानो नाम) मा पानी खुवाएर बेलैमा भैँसीलाई गोठ फर्काउँथे ।”

त्योबेला काशीनाथ घिमिरे (खगराजका बुवा), तारानिधि घिमिरे, तीलविक्रम नेम्वाङ लगायतका सीमित घर थिए । त्यो पनि पोखरीभन्दा निकै परपर । सडक संरचना थिएन । गोरेटो बाटो थियो । तर, अहिले त्यही ठाउँ विश्वमै नाम चलेको पर्यटकीय गन्तव्य भएको छ । पर्यटक डुङ्गा सयर गर्न र फिसिङ गर्न दिनहुँ आठ सयदेखि दुई हजारसम्म आउँछन् । साँझदेखि ‘स्पिकर’ बज्छ । मध्यरातसम्म म्युजिकमा झुम्छन् । खानु, पिउनु, नाज–गान गर्नु, क्याम फाएर गर्नु अन्तुको संस्कार भएको छ ।

चरन क्षेत्रबाट पर्यटकीय गन्तव्यसम्मको परिवर्तन  २०४० सालदेखि सुरु हुन्छ । त्यतिबेला कृष्णप्रसाद भट्टराई जिल्ला पञ्चायत सभापति हुनुहुन्थ्यो । जिल्ला पञ्चायतले रु २० हजार दिएपछि पोखरी संरक्षण अभियान सुरु भयो । पोखरी संरक्षणमा स्थानीय पनि जुटे ।

“पोखरीको पूर्व र पश्चिमतर्फ पर्खाल लगाइयो । पानी जमाइयो । सरसफाइ गरियो”, खगराजले भन्नुभयो, “विसं २०५९ मङ्सिर २७ गते जिल्ला प्रशासन कार्यालयमा अन्तु पर्यटन विकास केन्द्र संस्था दर्ता भयो । त्यही संस्थाको नेतृत्वमा २०६२÷६३ सालतिर नेपाल सरकारले रु ५५ हजार र पछि रु एक लाख ७० हजार बजेट दियो । त्यसले पर्खाल लगाउने र पानी जमाउने थप काम भएको थियो ।”

पचासको दशकयता स्थानीय यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएर लागेका थिए । पोखरी बनेपछि स्थानीय मिलेर सुरुमा भारतको मिरिकबाट भाडामा डुङ्गा ल्याए । पछि कोलकता गएर दुई डुङ्गा किनेर ल्याएपछि सञ्चालन भयो । विसं २०६२÷६३ तिर तत्कालीन सभामुख  सुवासचन्द्र नेम्बाङले परेवा उडाएर पोखरीमा डुङ्गा सञ्चालन सुरु गर्नुभएको हो । त्यतिबेला डुङ्गा समितिले सञ्चालन गरेको थियो । अहिले नगरपालिकाले लगानी बढाएर पालिका मातहत सञ्चालन गर्छ । र, राम्रो आम्दानी गरिरहेको छ ।

सङ्घीयतापछि स्थानीय सरकारको नजर अन्तुमा प¥र्यो । नगरपालिकाले अन्तुपोखरी र अन्तुडाँडाको पूर्वाधार विकास, संरक्षण र सौन्दर्यीकरणमा करिब रु पाँच करोड खर्च गरिसकेको पूर्वप्रमुख रणबहादुर राईले बताउनुभयो ।

“पोखरी वरिपरि हिँड्न नसकिने अवस्था थियो । हिलैहिलो । यहाँ आउने पर्यटक हिलोको पीरले पोखरी पस्न मन गदैनथे । खासै चहलपहल थिएन”, पूर्व प्रमुख राईले भन्नुभयो, “वरिपरि ट्रयाक बनाइयो । बत्ती लगाउने काम भयो । अहिले एकीकृत बस्तिको रुपमा काम अघि बढेको छ । विसं २०७४ मा हामी जनप्रतिनिधि भएर आउँदा खरले छाएका कटेज, होमस्टे अलि–अलि थिए । अहिले ठूलठूला होटल बनेका छन् । अन्तुमा हामीले करिब रु पाँच करोड खर्चेर पर्यटकीय ‘हब’ बनाएका हौँ ।”

पोखरीभन्दा माथि अन्तुडाँडा छ । जहाँबाट झुल्केघाम हेरिन्छ । अन्तुपोखरी र अन्तुडाँडा पर्यटकका लागि पर्याय हुन् । २०७४ सालमा अन्तुडाँडासम्म पुग्ने बाटो थिएन । “छिपिटारदेखि अन्तु भन्ने थियो । तर, सडक डिभिजन कार्यालयले भञ्ज्याङ(पोखरीभन्दा तलको ठाउँ)सम्म सडक लगेपछि छोडेर पैसा फिर्ता गर्न लागेको थियो । स्थानीय सरकारमा हामी गएपछि सडक नभई भ्यू टावर पुग्न सकिँदैन भनेर बाटो माथि पु¥याउने काम ग¥र्यौं”, उहाँले भन्नुभयो, “अन्तु डाँडाको टावर अव्यवस्थित थियो । सङ्घीय र स्थानीय सरकारको समन्वयमा व्यवस्थित बनाइयो । खेल मैदानबाट डाँडा पुग्ने बाटो हिलाम्मे थियो । सोलिङ÷ग्राभेल गरियो । अहिले पर्यटक सजिलै माथि पुग्छन् ।”

अन्तुका अधिकांश क्षेत्रमा बत्तीको व्यवस्था गरिएको छ । त्यो बेला पर्यटकले टिकट काटेको आम्दानी एक वर्षमा रु एक लाख मात्र हुन्थ्यो । तर फोहरमैला धेरै । “आन्तरिक राजस्व बढाउन नगरपालिकाले आफ्नै कर्मचारी राखेर वार्षिक रु ५६ लाखसम्म राजस्व उठाउने काम ग¥र्यो । पर्यटनसम्बन्धी मेला लगाइयो । प्रचारप्रसारको काम व्यापक भयो”, प्रमुख राईले भन्नुभयो ।

हाल सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले ‘ब्युटिफिकेशन’को काम गरिरहेको छ । अहिले सघनले चाहिँ ब्युटिफिकेशनको काम, दुई नम्बर गेटबाट आउने बाटो ढलाइ, फुट ट्रायल बनाउने काम, घेराबारा बनाउने काम र रोड विस्तारको काम गरिरहेको आयोजनाका सब–इन्जिनियर प्रकाश चापागाईंले बताउनुभयो ।

अन्तु घुम्न आउने पर्यटक अहिले अन्तुपोखरीको सेरोफेरोमा घण्टौँ बिताउन थालेको व्यवसायी बताउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरे अहिले पर्यटक आउने ‘फ्लो’ बढेको बताउनुहुन्छ । “दिनमा ८०० देखि दुई हजारसम्म पर्यटक आउँछन् । अन्तु पर्यटन व्यवसायी सङ्घमा होटल कटेज र होमस्टे गरेर ११० वटा छन् । सामुदायिक होमस्टे ५० वटा छन् । नियमित सेवा दिने ३५ वटा छन् ।” पर्यटन व्यवसायी सङ्घअन्तर्गतका होटलमा ३१० जना प्रत्यक्ष रोजगार छन् ।

चियाबारीका थुम्काभित्रका सुन्दर कटेज, होमस्टे, बोटिङ, सिजनेवल फिसिङ, घोडचढी, यहाँका प्रमुख आकर्षण हुन् । हाल अन्तु पोखरीमा चार वटा डुङ्गा सञ्चालन हुन्छ । एउटा डुङ्गामा चार जना बस्छन् । एक जनाले एकपटक पोखरी परिक्रमा गरेको रु ५० तिर्नुपर्छ । यो आम्दानी नगरपालिकाको हो । दिनभर डुङ्गा खाली बस्न पाउँदैनन् । सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ । अघिल्लो दिन आएर अन्तुपोखरी डुलघुम गर्ने, रातिसम्म नाचगान गर्ने र भोलिपल्ट बिहानै उठेर अन्तु डाँडामा झुल्केघाम हेर्ने पर्यटकको समय कार्यतालिका हुन्छ ।

मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ । त्यहाँबाट करिब ११ किलोमिटरमा रहेको अन्तुपोखरीमा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ । अन्तुको झुल्केघामको याम भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।

अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार वरिपरि झैँ लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ ।

भारतको पश्चिम बङ्गालका सयौँ पर्यटक वर्षेनी यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेकाबेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बङ्गालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउने गरेका छन् ।

सूर्योदय नगरपालिकाले पर्यटनबाट नै आर्थिक समृद्धि खोजिरहेको कार्यवहाक नगरप्रमुख दुर्गा कुमार बरालले बताउनुभयो । “अन्तु र कन्याम मात्र होइन यहाँका हरेक वडा हरेक गाउँ पर्यटकीय छन् । कृषिउपज, जडीबुटी, लोपन्मुख रेडपाण्डा, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थानले सूर्योदय पर्यटकीय ठाउँ हो । कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको छ ।

अन्तु र कन्याम हाम्रा प्रमुख गन्तव्य हुन् । तर, अन्य ठाउँलाई समेत पर्यटनमा विकास गर्दै लैजान्छौँ । हाम्रो आर्थिक समृद्धिको प्रमुख आधार नै पर्यटन हो”, उहाँले भन्नुभयो । रासस