७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै
अ+ अ-

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।

विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ ।

फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्रमा ०७४ सालअघि १८ वटा चौँरी गोठ रहेकामा अहिले ३१ वटा गोठ रहेका छन् । “पेसाप्रति युवा र महिलाहरु आकर्षित छन् ।

पहिले पुरुषहरु मात्रै गोठमा बस्ने चलन थियो”, उहाँले भन्नुभयो, “गोठहरु पहिलेभन्दा धेरै सुधार भएका छन् । अहिले गोठमै पर्यटकलाई राख्ने प्रबन्ध भएको छ ।” जसलाई ‘गोठ–बास’ (गोठ–स्टे) भनिन्छ । गोठालाहरु नै पर्यटनतर्फ आकर्षित भएका छन् । तर सबै गोठमा गोठबास कार्यान्वयन हुन सकेको छैन । अहिले १०–१२ वटा गोठले मात्रै पर्यटक राख्न सक्छन् । सन्दकपुर आहालदेखि फालोटसम्म रहेका यी गोठमा गरेर करिब १५० मानिस यहाँ बास बस्न सक्दछन् ।

वार्षिक रुपमा कम्तीमा पाँच हजार पर्यटक आउने गरेको नेपालको भनाइ छ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण गोठहरु गाउँतर्फ झारिने हुँदा पर्यटकहरुलाई पुग्न र बास बस्न कठिन पर्ने गरेको छ । पहिले यहाँ चौँरीको घ्यू र छुर्पी मात्रै उत्पादन हुने गरेकामा अहिले चिज उत्पादन गरी बिक्री हुँदै आएको छ । महोत्सवकै कारण चौँरीजन्य सामग्रीले बजार पाएको, सरकारी निकायहरुले सहयोग गर्न थालेका र पर्यटकहरु पुग्न थालेको नेपालको भनाइ छ ।

फालेलुङको चारराते, तीन सिमानालगायत क्षेत्रका चौँरीपालकहरुको समूह कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार पछिल्ला वर्षहरुमा चौँरीको सङ्ख्यामा अत्यधिक वृद्धि हुँदै गएको छ । चौँरीपालनमै आधारित भएर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ भने पर्यापर्यटनको विकासमा धेरै ठूलो मद्दत पुगेको छ । यसको मुख्य कारण पर्यटकको सङ्ख्या बढ्दै जानु हो । चौँरी महोत्सवले पर्यटक भित्र्याएपछि चौँरीका सामग्रीले राम्रो मूल्य पाउन थालेका छन् ।

गुरुङका अनुसार चौँरीको हाडखोर पनि बिक्री हुन्छ । सिङ, पुच्छर पनि बिक्री हुन्छ । चौँरीका धेरै सामग्री धार्मिक÷सांस्कृतिक कार्यमा प्रयोग गरिने हुँदा धेरै माध्यमबाट गोठालाहरुले आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो समय नयाँ याकहरु ल्याएर चौँरीका नयाँ प्रजातिको विकासको प्रयास भइरहेको छ, जसले चौँरीको सङ्ख्या बढाउँदै लगेको छ । ताप्लेजुङका हिमाली भेग र भूटानबाट याक ल्याएर उन्नत प्रजाति उत्पादनको प्रयास चलिरहेको छ, जसमा अहिलेसम्म ४० बढी चौँरी हुर्किएको गुरुङको भनाइ छ । अब सरकारले चौँरीमा कृत्रिम गर्भाधानमा सहयोग गर्नुपर्ने उहाँको माग छ ।

चौँरीजन्य सामग्रीको बजार पनि सहजै रहेको अध्यक्ष गुरुङले बताउनुभयो । “छुर्पीको निर्यात कहिलेकाहीँ समस्या आउने गरेको छ । तर बिक्री राम्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले याक चिज उत्पादन भइरहेको छ । यसको बजार पनि राम्रै छ । तर मूल्य वृद्धि हुनुपर्छ ।” याक चिज काठमाडौँमा धेरै निर्यात हुन्छ । अहिले चिज प्रतिकिलो रु ८०० देखि रु एक हजारसम्ममा बिक्री भइरहेको छ भने चौँरीको घ्यू रु ८०० छ ।

उत्पादित सामग्रीको मूल्य भने कम भएको अध्यक्ष गुरुङको गुनासो छ । “गाई र चौँरीका दुग्धजन्य सामग्रीमा धेरै अन्तर छ । चौँरी त जडीबुटी चरेर दूध दिने जनावर हो”, गुरुङले भन्नुभयो, “तर गाई र चौँरीका दुग्धजन्य सामग्रीको मूल्य करिब बराबर छ । यसले त उत्पादन लागत पनि उठ्न गाह्रो हुन्छ ।”

यस पटक पाँचथरकै याङरुमा उत्पादित भेडाको घ्यूसमेत महोत्सवमा राखिएको थियो । असाध्यै मेहनत पर्ने भएकाले भेडाको घीउ प्रतिकिलो रु १२ हजार पर्ने गरेको बिक्रेता लोकेश गुरुङको भनाइ छ । “भेडाको व्यावसायिक पालन घट्दै गएको अवस्था छ । माग अत्यधिक छ तर, घीउ उत्पादन गर्न कठिन पर्ने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा राज्यले पनि केही सहयोग गरे हामीलाई सहज हुन्थ्यो ।”

विगत नौ वर्षदेखि नयाँ वर्षको दिन चाररातेमा चौँरी महोत्सव आयोजना हुने गरेको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासहित भारत, भूटान, बङ्गलादेशबाट पर्यटक आउने गर्दछन् ।

महोत्सवका अवसरमा भेला पारिने सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भूटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङ्गमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् ।

हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूको भनाइ छ । रासस