५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत



अ+ अ-

काठमाडौं ।अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ । वार्ता असफल भएसँगै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेपछि क्षेत्रीय युद्ध थप चर्किने सङ्केत देखिएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने चिन्ता बढाएको छ ।

पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम त्याग्न अस्वीकार गरेको आरोप लगाए ।

उनका उपराष्ट्रपति जेडी भान्स वार्ताबाट बाहिरिएपछि ट्रम्पले रणनीतिक महत्त्वको होर्मुज जलडमरूमध्यसँग सम्बन्धित कडा कदम चाल्ने सङ्केत दिएका थिए ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार सोमबार १४०० जिएमटीदेखि अरबको खाडी र ओमानको खाडी क्षेत्रका सबै इरानी बन्दरगाहहरूमा प्रवेश वा प्रस्थान गर्ने जहाजमाथि नाकाबन्दी लागू गरिनेछ ।

यद्यपि गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको आवागमनमा अवरोध नपारिने स्पष्ट पारिएको छ । ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत यो निर्णय पुष्टि गर्दै प्रारम्भिक भनाइभन्दा सीमित तर रणनीतिक रूपमा महत्त्वपूर्ण कदम भएको सङ्केत गरेको छ ।

यसअघि ट्रम्पले जलडमरूमध्य पूर्ण रूपमा नियन्त्रणमा लिने कडा चेतावनी दिएका थिए । “संयुक्त राज्य अमेरिकाको नौसेनाले होर्मुज हुँदै जाने सबै जहाजहरू रोक्ने प्रक्रिया सुरु गर्नेछ”, उनले लेखेका थिए । साथै उनले कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनीसमेत दिएका थिए।

इरानले भने यस्तो कदमलाई चुनौती दिएको छ । रिभोलुसनरी गार्ड्सले होर्मुज क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै अमेरिकी कदमलाई प्रतिकार गरिने चेतावनी दिएको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले आफ्नो देश कुनै दबाबमा नझुक्ने बताएका छन् भने नौसेना प्रमुख सहराम इरानीले अमेरिकी घोषणालाई ‘हास्यास्पद’ टिप्पणी गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्ता असफल हुनुमा अमेरिकी ‘अधिकतम दबाब’ नीति र अन्तिम समयमा अडान परिवर्तन जिम्मेवार रहेको बताए  । उनका अनुसार सम्झौता ‘इन्चको दूरीमा’ पुगेको थियो तर नाकाबन्दीको घोषणा भएपछि सम्भावना समाप्त भएको छ ।

यो घटनाक्रमले फेब्रुअरी अन्त्यदेखि जारी युद्धलाई थप जटिल बनाएको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ भने विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ ।

पाकिस्तानले मध्यस्थताको प्रयास जारी राख्दै दुवै पक्षलाई युद्धविराम कायम राख्न आह्वान गरेको छ, तर समुद्री नाकाबन्दीले त्यो प्रयास कमजोर बनाउने विश्लेषण गरिएको छ ।

यसबीच, तेल बजारमा तत्काल प्रभाव देखिएको छ । गत साता घटेको मूल्य सोमबार पुनः बढ्दै डब्लुटीआई र ब्रेन्ट दुवैको मूल्य प्रति ब्यारेल १०० डलर आसपास पुगेको छ । खाडी क्षेत्रमार्फत विश्वको ठूलो भाग तेल आपूर्ति हुने भएकाले यस्तो अवरोधले दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।

विशेषगरी मित्र राष्ट्रतर्फ जाने ढुवानीलाई प्राथमिकता दिँदै तेहरानले पहिले नै केही जहाजहरूको आवागमनमा नियन्त्रण राख्दै आएको छ । यसले होर्मुज जलडमरूमध्यलाई युद्धको केन्द्रविन्दु बनाएको छ ।

विश्लेषकहरूले अमेरिकी नाकाबन्दीलाई केवल दबाबको सङ्केत नभई युद्धको पुनः तीव्रता बढाउने कदमका रूपमा व्याख्या गरेका छन् ।