१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्रोनको आणविक पहललाई नाटोको स्वागत



अ+ अ-

ब्रसेल्स। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशको आणविक क्षमता विस्तार गर्ने घोषणा गरेपछि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले त्यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरेको छ ।

युरोपको सुरक्षाबारे बढ्दो चिन्ताबीच पेरिससँग आणविक विषयमा परामर्श विस्तार गर्ने अवसरलाई गठबन्धनले महत्त्वपूर्ण मानेको हो ।

नाटोका एक अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै फ्रान्सको आणविक प्रतिरोधले लामो समयदेखि गठबन्धनको सुरक्षामा योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

उहाँले राष्ट्रपति म्याक्रोनको प्रतिरोध क्षमतालाई अझ सुदृढ बनाउने पहललाई स्वागत गर्दै सुसङ्गत र समन्वित दृष्टिकोण सुनिश्चित गर्न फ्रान्ससँग आणविक मुद्दामा परामर्श विस्तार गर्न चाहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति म्याक्रोनले सोमबार फ्रान्सले आफ्नो आणविक शस्त्रागार विस्तार गर्ने तथा पहिलो पटक सहयोगी देशहरूमा आणविक–सशस्त्र विमान तैनाथ गर्न सक्ने सङ्केत गर्नुभएको थियो। संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला युरोपेली रक्षामा सम्भावित ठूलो रणनीतिक परिवर्तनका रूपमा यस घोषणालाई हेरिएको छ ।

उहाँले युक्रेनविरुद्ध रुसको युद्ध पाँचौँ वर्षमा प्रवेश गरेको सन्दर्भमा फ्रान्सको आणविक सिद्धान्त अद्यावधिक गर्नुभएको हो । यसबीच नाटो सहयोगीहरू वासिङ्टनको युरोपप्रतिको प्रतिबद्धता डगमगाउन सक्ने आशङ्कामा छन् । अमेरिकी अधिकारीहरूले नाटो ढाँचाअन्तर्गत अमेरिकी आणविक प्रतिरोध युरोपका लागि कायम रहने आश्वासन दिए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युरोपेली मुलुकहरूमा अस्थिरताको चिन्ता पूर्ण रूपमा कम हुन सकेको छैन ।

म्याक्रोनले बेलायत, जर्मनी, पोल्यान्ड र स्विडेनसहित आठ युरोपेली देशहरू आगामी चरणको आणविक प्रतिरोध योजनामा सहभागी हुन सहमत भएको बताउनुभएको छ । उहाँका अनुसार फ्रान्सको यो पहल नाटोको समग्र मिसनको पूरक हुनेछ । फ्रान्स युरोपेली सङ्घ (इयु) को एकमात्र आणविक शक्ति राष्ट्र हो भने बेलायतबाहेक महाद्वीपमा आणविक हतियार भएको अर्को देश छैन ।

हाल नाटोको आणविक प्रतिरोध मुख्य रूपमा संयुक्त राज्य अमेरिकामा निर्भर छ र फ्रान्स गठबन्धनको आणविक योजना समूहबाट स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको छ । यसै सन्दर्भमा नाटोका महासचिव मार्क रुटले यस महिनाको सुरुमा युरोपमा अमेरिकी आणविक छातालाई प्रतिस्थापन गर्न कसैले दबाब नदिएको स्पष्ट पार्नुभएको थियो । (रासस/एएफपी)