२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोतका पियनको नै सम्पत्ति नौ करोड, लाग्यो भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । मालपोत कार्यालयका सहयोगी (पियन)ले २० वर्षे जागिरको क्रममा झयडै ९ करोड अकुत सम्पत्ति कमाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएपछि सो कुरा खुलेको हो । अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रुपैयाँ सम्पत्ति देखिएको छ । त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत नखुलेको र त्यो सम्पत्ति अवैध तरिकाले कमाएको ठहर गरिएको प्रवक्ता प्रदीप कोइरालाले जनाए ।

बिहीबार अख्तियारले बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि बस्नेत अनुसन्धानमा तानिएका थिए । ०४५ सालदेखि जागिर खान सुरु गरेका उनले २० वर्षको अवधिमा ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै कमाउन सक्ने अख्तियारले जनाएको छ । पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो । तर सम्पत्ति ८ करोड ९८ लाख देखिएको छ ।

निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो । त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा उनिबाट ११ लाखरूपैयाँ बरामद गरेको थियो । आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन, पाँच लाखको बिमा गरेका छन् । उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ । त्यस्तै, ३७ लाख ३१ हजार रुपैयाँ सवारीसाधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन् । उनको परिवारको नाममा विभिन्न बैंकहरूमा पाँच लाख रुपैयाँ देखिन्छ ।

त्यस्तै उनले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ । अख्तियारले उनलाई २ वर्षसम्म कैद र बिगो जति नै जरिवाना गराउन माग गर्दै विशेषमा मुद्दा हालेको प्रवक्ता कोइरालाले जानकारी दिए । त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ । सौर्य दैनिकबाट