२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुहानका नेपाली भन्छन्- ‘नेताहरूको मानवता हराएछ’, अभिभावक आयोग गुहार्दै



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् । अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन । दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् । उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए ।

सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपालीलाई तुरुन्त स्वदेश ल्याउन सम्बन्धित मन्त्रीहरूलाई दुईपटक निर्देशन दिइसके । प्रधानमन्त्रीका सल्लाहकारहरूले चिनियाँ पक्षको कुरा सुनेर ढिलाइ गरेको आरोप नेपाली विद्यार्थीको छ । उनीहरूले आफ्नो नाम सञ्चारमाध्यममा आउँदा पढाइमा असर गर्ने भन्दै खुला रूपमा बोल्न मानेनन् ।

विद्यार्थीले शनिबार ‘विनाशकाले विपरीत बुद्धि’ शीर्षकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई सम्बोधन गरेर १८१ जनाका तर्फबाट सामूहिक पत्र पठाएका हुन् । ‘हामीले लगातार नेता र मन्त्रीलाई सम्झाउन खोज्यौं । तर आरामदायी सरकारी कोठामा जनताको करमा मस्तले बस्न पाएकाहरूलाई हाम्रो पीडा सुन्ने फुर्सदै भएन,’ पत्रमा उल्लेख छ, ‘यतिबेला नेपालमा साँच्चै मानवता छायामा परेको रहेछ । आफ्ना लागि सोच्दासोच्दा नेताहरूको मानवता हराएछ ।’ सरकारी व्यवहारका कारण आँखा खुलेको भन्दै उनीहरूले अब आफ्नै तरिकाले लड्ने बताएका छन् ।

‘बाहिर काल घुमिरहेको छ । हामी भित्र छौं । सरकारले सुन्दैन, के गर्ने ? ’ उनीहरूले पत्रमा लेखेका छन् । विद्यार्थी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत बाहिर आउने तयारीमा छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर सुरक्षित ढंगले ल्याउन खोज्दा केही ढिलाइ भएको बताए । उनले भने, ‘यही दिन ल्याउने त ठ्याक्कै भन्न सक्दिनँ । अब एकदुई दिनमा ल्याउने गरी निर्णय हुन्छ ।’

ज्ञवालीले केही पूर्वाधार तयार गर्नुपर्ने भएकाले विद्यार्थी ल्याउन ढिलाइ भएको बताए । उनले व्यवस्था मिलाउँदामिलाउँदै एक साता बितेको स्विकारे । ‘केही पूर्वाधार तय गर्नुपर्ने भएकाले समय लागेको हो । अब ढिलो हुँदैन,’ ज्ञवालीले अन्नपूर्णसँग भने, ‘त्यहाँ रहेका नेपालीका बारेमा हामी संवेदनशील छौं ।’ उनले आफू वुहानमा रहेका नेपालीसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए । उनले भने, ‘यहाँको तयारीमा केही ढिलाइ भएकाले अब नअत्तालिन र संयमता अपनाउन आग्रह गरेको छु ।’

आयोग गुहार्दै अभिभावक:विद्यार्थीका अभिभावक आइतबार राष्ट्रिय मानवअधिकार आयोग पुगेर सरकारले गरेको बेवास्ताप्रति बोलिदिन आग्रह गर्ने तयारीमा छन् । उनीहरुले सन्तान फिर्ताका लागि प्रधानमन्त्री ओलीलाई भेटेर आग्रह गरिसकेका छन् । प्रक्रिया अघि नबढेपछि आयोगलाई गुहार्न लागिएको एक अभिभावकले बताए । आयोले पनि केही नगरे राष्ट्रसंघीय निकाय र शक्ति राष्ट्रका दूतावासमा गुनासो गर्न जाने तयारी उनीहरूको छ । अमेरिकीले आफ्ना सबै नागरिकलाई फिर्ता लगिसकेको भए पनि भाइरस संक्रमणमा निधन भएकी महिलालाई संक्रमणको आशंकामा चीनमै उपचार गरिएको थियो ।

उनको निधन बिहीबार भए पनि शनिबार मात्र जानकारी आएको थियो । बेइजिङस्थित अमेरिकी दूतावासका अनुसार ती महिला ६० वर्षकी थिइन् । दूतावासले उनको नाम सार्वजनिक गरेको छैन । हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात सय ५० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ३४ हजारभन्दा बढीमा संक्रमण भएको छ । अन्नपुर्णपोष्ट दैनिकबाट