बैतडी। बालविवाह रोक्न यहाँका अभिभावक नै सक्रिय भएका छन् । जिल्लाको पाटनका अभिभावकहरूले बालविवाह रोक्ने प्रतिबद्धता जनाएकासँगै जनचेतना जगाउन सक्रिय भएका हुन् ।
बालविवाहका कारण हुने सामाजिक, मनोवैज्ञानिक, आर्थिक, शारीरिकलगायत असरका विषयमा थाहा भएपछि आफूहरू सामूहिक रूपमा बालविवाह रोक्ने अभियानमा लागेको पाटन–६ का जनकसिंह विष्टले बताउनुभयो । गल्स फस्ट फण्डको सहयोगमा परोपकार ग्रामीण विकास सङघले अभिभावकसँग गरेको अन्तरक्रियामा सहभागीहरूले बालविवाह रोक्नका लागि समूह बनाएर सक्रिय हुन थालेको उहाँको भनाइ छ ।
अहिले पाटन–२ र ६ मा परोपकार ग्रामीण विकास सङ्घले बालविवाह न्यूनीकरण र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । ती दुई वडाका दुई वटा विद्यालयमा किशोरकिशोरीको समूह बनाएर रुपान्तरण कक्षा सञ्चालन गरिरहेको सङ्घकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताउनुभयो ।
रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीका अभिभावकसँग बालविवाह अन्त्यका विषयमा आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरूले बालविवाह रोक्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
बालविवाहका कारण शारीरिक, सामाजिक, आर्थिक र अन्य समस्या सिर्जना हुने भएकाले आफूहरू बालविवाह रोक्न सक्रिय रहेको पाटन–२ मा गठन गरिएको आदर्श अभिभावक समूहकी संयोजक निर्मला ऐरले बताउनुभयो । बालविवाहका कारण आफ्नो पुस्ताले धेरै समस्या झेलेकाले अबको पुस्ताले त्यस्तो समस्या झेल्न नपरोस भनेर सक्रियता बढाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिकलगायत क्षेत्रमा धेरै समस्या सिर्जना भइरहेका हुन्छ । तसर्थ यसको न्यूनीकरण गर्दै शिक्षित समाज निर्माणमा हामी जुटेका छौँ ।”
बालविवाहले परिवारलाई पुस्ताँैसम्म आर्थिक, सामाजिक रूपमा समस्या पार्ने र पछि परिने भएकाले आफूहरू अभियानमा जुटेको पाटन–२ की भागरथी पाण्डेयले बताउनुभयो । रुपान्तरण कक्षामा सहभागी भएपछि बालबालिका पनि सचेत भएका छन् । उहाँले भन्नुभयो, “विद्यालयमा सञ्चालन हुने रुपान्तरण कक्षाबाट हाम्रा बालबालिकामा सकारात्मक परिवर्तन आएको छ । बालविवाह गर्नुहुँदैन भन्ने कुरा उनीहरूले पनि बुझेका छन् ।”
बालविवाहका कारण महिलाको प्रजनन स्वास्थ्यमा विभिन्न समस्या सिर्जना हुने भएकाले यसलाई परिवारबाटै निरुत्साहित गर्नुपर्ने सिलङ्गा स्वास्थ्यचौकीकी अनमी सिर्जना नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा अझै पनि बच्चा जन्माउन किशोरी आमाहरू आउने क्रम जारी छ । तसर्थ बालविवाह रोकी समुदायमा सुधार ल्याउनु जरुरी छ । यस अभियानले केहीहदसम्म बालविवाह रोकिए पनि पूर्ण रूपमा अन्त्यका लागि नीति र कानुनमा कडाइ गर्नुपर्छ ।”
बालविवाह सामाजिक विकृति र गलत प्रचलन भएकाले यसको अन्त्यका लागि संस्थाका तर्फबाट सबै सरोकार भएकासँग छलफल गर्ने गरिएको सङ्घका लेखा अधिकृत हेमन्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रमा किशोरकिशोरी र अभिभावकलाई लक्षित गरेर बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
मुलुकी अपराधसंहित ऐन, २०७४ ले २० वर्ष मुनिको विवाहलाई बालविवाह मानेको छ । तसर्थ २० वर्षभन्दा मुनिको विवाह स्वतः बदर हुने व्यवस्थासमेत उक्त ऐनमा उल्लेख छ । कसैले बालविवाह गरेमा तीन वर्ष कैद र रु तीस हजार जरीवानाको व्यवस्था उक्त ऐनमा गरिएको छ ।
—










