काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ ।
पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ । परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठह¥याएको हुन नहुने प्रावधान छ ।
बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ । आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन् । कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् ।
सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरिएको छ । जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न नपाउने भएका छन् । राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिवद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन् । उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ ।
प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशित गरिएको छ । समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै शहीद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्नेछ । एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ । राष्ट्रिय सभातर्फ प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान राखिएको छ । पार्टी नेतृत्वले यो मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिवद्धता जनाएको छ । यो कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ । परिपत्र सबै तहका कमिटीहरूसम्म पुगिसकेको नेकपाले बताएको छ ।









