४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन

स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन
अ+ अ-

काठमाडौँ । रामदुनी झुम्का–१ सकुन्तला अधिकारीका दुई छोराछोरी पाँच कक्षामा पढ्दै थिए । श्रीमान्को कमाइ थिएन । हुर्किँदै गरेका सन्तानको भविष्य बनाउने सपनासहित उहाँ बाध्य भएर विदेशीनुपर्ने अवस्था आयो । मेनपावरमार्फत कुवेत पुग्नुभएकी अधिकारीसँग गृहिणीका रूपमा घरायसी काम र खाना पकाउनेबाहेक अन्य अनुभव थिएन ।

के कामका लागि विदेश जाँदैछु भन्नेसमेत थाहा नपाइ उहाँ विदेशीनुभयो । बदलामा दुई वर्षसम्म निकै सास्ती खेप्नुप¥यो, ऋणधन गरेर गएकी अधिकारीलाई रित्तो हात घर फर्किने सुविधा थिएन । पछि जसोतसो साथीभाइको सहायतामा उहाँले अरबीको घरमा घरेलु कामदारका रुपमा काम पाउनुभयो ।

“त्यहाँ राम्रो घरमा काम पाउनु भनेको निकै भाग्यको कुरा हो, त्यस्तै भाग्मानी रहेछु म । मैले काम पाएको घरका मान्छे निकै मनकारी रहेछन्”, अधिकारीले स्मरण गर्नुभयो,“काम भने धेरै गर्नुपर्थ्यो । २४सै घण्टा काममा खट्नुपर्ने अवस्थासमेत आउने ।”

अचेल अधिकारीलाई त्यति समय नेपालमै श्रम बगाएको भए पनि धेरै आर्थिक लाभ हुने रहेछ भन्ने लागिरहेको छ । “वैदेशिक रोजगारीमा जानु हामीजस्ता महिलाका लागि रहरभन्दा पनि बाध्यता नै हो । विदेश गएर दुई चार पैसा ल्याई बस्ने बास र छोराछोरी पढाउने आशमा विदेशिनुपर्ने अवस्थाका कति छन् कति”, उहाँ भन्नुहुन्छ ।

त्यही बाध्यता अधिकारीलाई पनि थियो, त्यसैले त साढे दश वर्षसम्म छोराछोरी पढाउनकै लागि चाहेर पनि उहाँले स्वदेश फिर्कन पाउनुभएन । “घर आउने चाहना कसलाई हुँदैन र रु छोराछोरी काखमा च्याप्ने रहर त थियो नि मलाई पनि”, उहाँ भन्नुहुन्छ, “तर, के गर्नु आउँदा जाँदा खर्च लाग्छ भनेर मन बाधेर बस्थेँ । त्यसो गर्दा गर्दै साढे दश वर्ष कुवेतमा श्रम बगाएँ ।”

४० वर्षीया अधिकारी जब स्वदेश फर्किन, आफ्नै देशमा पनि शान्तले बस्न पाउनुभएन । परिवार, समाज र आफन्तले हेर्ने दृष्टिकोण सकारात्मक भएन । उहाँले आर्थिक अभावभन्दा पनि यस्तै दृष्टिकोणका कारण समस्या भोग्नुभयो । “छोराछोरी छोडेर विदेशिएकी महिलालाई राम्रो नजरले हेर्दा रहेनछन्, मैले धेरै नराम्रो सुन्नुपर्यो”, अधिकारीले पीडा सुनाउनुभयो, “समाज, परिवार र आफन्तको त्यही असहयोगी वातावरणले मानसिक समस्या भोग्नुप¥यो । डिप्रेसनको औषधि खानुपर्यो । आत्महत्या गर्ने सुर चल्यो ।”

लाञ्छनाले भरिएको गहु्रङ्गो र विक्षिप्त मन बोकेर बाँचिरहेकी अधिकारीलाई केही समय निकै गाह्रो भयो । पछि सहकर्मी र केही सकारात्मक सोच भएका मानिसहरूमार्फत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण ९रेमी० परियोजनासँग जोडिनुभयो । “त्यहाँ गएपछि पहिलो चरणमा आत्मबल बढाउने खालको सहयोग पाएँ, पछि आर्थिक मनोबल बढाउने सामग्री उपलब्ध गराइयो”, अधिकारीले भन्नुभयो,“डिपफ्रिज र केही व्यवसाय गर्ने सामग्री उपलब्ध भयो । त्यसैको सहयोगमा चटपटे, पानीपुरीको व्यापार र किराना पसल सञ्चालन गरिरहेकी छु ।”

त्यसपछि उहाँको दैनिकी फेरिएको छ । समाजका लाञ्छना पन्छाउँदै त्यही व्यापारबाट राम्रो आम्दानीसँगै स्वदेशमै सम्मानपूर्वक जीवनयापन गर्ने आधार बनिरहेको अधिकारले बताउनुभयो । सुनसरीबाट अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाडौँ आउनुभएकी उहाँले आफ्नो प्रगती सुनाउँदै भन्नुभयो,“वैदेशीक रोजगारमा गएर मात्रै समस्या सुल्झिन्न रहेछ । हामीले स्वदेशमै लाज नमानी काम गर्ने हो भने अर्काको देशमा दुःख गर्नु पर्दैन । परिवारसँगै बसेर सम्मानित जीवन बाँच्न सकिने रहेछ ।”

उहाँजस्तै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यमी बनेकी जनकपुरका नन्दु यादवको सङ्घर्ष पनि रोचक छ । कतारमा १८ वर्षसम्म श्रम गरेर फर्किएकी उहाँले हाल माछा तथा पशुपालन व्यवसाय गरिरहनुभएको छ । ५६ वर्षीय यादवले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो,“विदेश जानु नराम्रो होइन, सीप सिकेर जाँदा राम्रै हुन्छ । जाँदा सीप सिकेर गइएन भने धेरै दुःख पाइन्छ । होस् गर्नुपर्छ ।”

२० वर्षको कलिलो उमेरमा घरको आर्थिक अवस्था सुधार्न रु ७० हजार ऋण लिएर कतार पुग्नुभएका उहाँले त्यहाँ सोचेजस्तो कमाइ नभएको बताउनुभयो । “ऋणको ब्याज तिर्दै विदेशको पैसा सकियो । केही रकम परिवारको आवश्यकता पूर्तिकै काममा सकियो”, यादव भन्नुहुन्छ,“समस्या त घर फर्किएपछि भयो । लगानी गर्न पैसा छैन, के गर्ने, कसो गर्ने भयो । पछि रेमी परियोजनाको सहयोगमा माछा तथा पशुपालन व्यवसाय सुरु गर्दा धेरै राहत भएको छ ।”

यादवका अनुसार हाल उहाँको फार्ममा अन्य दुई जना युवाले पनि रोजगार पाएका छन् । यसले धेरैपछि कर्म गर्नेलाई स्वदेशमै पनि आम्दानीका विभिन्न अवसर रहेको भन्ने महसुस भएको यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “अर्काको देशमा नोकर बन्नुभन्दा आफ्नो देशमा साहु बनेरै कमाउन सकिँदो रहेछ ! आफ्नै देशमा पैसा पनि सम्मान पनि मिल्ने । त्यसैले वैदेशिक रोजगारमा जाने सोच बनाएकाले यस विषयमा सोच्नुपर्छ भन्ने लाग्छ ।”

अधिकारी र यादव मात्रै होइन, एकपटक विदेश गएर फर्किएपछि मात्रै देशमा अवसर देख्ने गरेका छन् । यद्यपि, धेरैलाई स्वास्थ्य, समय र विविध कारणले अवसर पहिचान गर्ने अवस्था रहँदैन ।

मन्त्रालयले प्रकाशन गरेको नेपाल आप्रवासन श्रमिक प्रतिवेदन २०२४ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढ्दो क्रममा छ । तथ्याङ्कअनुसार सन् २०२२/२३ र २०२३/२४ मा नौ लाख ५४ हजार ३१९ जनाले श्रम स्वीकृति लिएको अवस्था छ, जसमा एक लाख १३ हजार ५६ महिला श्रमिक छन् ।

यस्तै, सन् २०२३/२४ मा वैदेशिक रोजगारमा जानेमा सीपयुक्त जनशक्ति वृद्धि भई ६९ दशमलव पाँच प्रतिशत पुगेको छ, तर पूर्ण दक्ष जनशक्तिको वृद्धि भने शून्य दशमलव चार प्रतिशत मात्रै छ ।