६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे



अ+ अ-

गोरखा। जाडो बढ्दै गएपछि जिल्लाको हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् ।  चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन् ।

“अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्”, चुमनुब्री–७ छेकम्पारको पासाङफुञ्जो लामा भन्नुहुन्छ, “अहिले हरेक घरमा एक जनामात्र होलान् ।” गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उहाँको भनाइ छ । गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उहाँले बताउनुभयो ।

जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चौरी गाउँमा झारिएको छ । याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताउनुभयो । “याकको भुत्ला बाक्लो हुने भएकाले लेकमै छाडिन्छ । चौँरीलाई भुत्ला पातलो भएकाले गाउँमा ल्याएर आफ्नै घरमा राख्ने चलन छ,”, उहाँले भन्नुभयो ।

चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन् । तिब्बत सीमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीयवासीको भनाइ छ । यहाँका करिब ४५ घरधुरीमध्ये दश, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङ्चुक राप्तेन लामाले जानकारी दिनुभयो । “धेरै घर खाली भइसकेका छन्”, उहाँले भन्नुभयो, “एक दुईबाहेक होटल पनि बन्द भएका छन् ।”

जाडो बढेपछि चुमनुब्री–२ को ल्हो माविका विद्यार्थीलाई आरुघाट गाउँपालिका–४ को कोखेटारमा सारिएको छ । आउँदो चैतसम्मका लागि विद्यालय नै तल स्थानान्तरण गरिएको त्यहाँका प्रधानाध्यापक बाबुराम धमला बताउनुहुन्छ ।

उनीहरु सहर झरेकाबेला तीर्थाटनका लागि धर्मशाला, लुम्बिनी तथा विभिन्न धर्मगुरुको समीपमा जाने गर्छन् । “धेरैजसो तीर्थ गर्न जान्छन् ।

कोहीकोही काठमाडौँमा पढ्ने छोराछोरीसँग घुमफिर गरेर समय बिताउँछन्”, चुमनुब्री–७ निलेको लोप्साङ लामा भन्नुहुन्छ, “हाम्रातिर घरमा ढोका लगाएर सबै सहर झर्दैनन् ।

कम्तीमा प्रत्येक घरमा एक जना घर कुरुवा बस्छन् ।” अहिले सहर झरेका सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उहाँको भनाइ छ ।रासस