काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात पार्टीका शीर्ष नेताहरूले गरेका छन् ।
अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न करिब ४० मिनेट लागेको प्राविधिकहरूले जानकारी दिएका छन् । महासचिवका उम्मेदवार ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलाई पनि मतदान गर्न त्यत्तिकै समय लागेको जनाइएको छ । शीर्ष नेताहरू सँगै मतदानस्थल पुगेका थिए ।
महाधिवेशनमा पहिलोपटक ई–भोटिङ प्रणाली प्रयोग गरिएको छ । निर्वाचन आयोगका अनुसार मतदानका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोगमा ल्याइएको छ । नयाँ प्रविधि प्रयोग भएकाले प्रारम्भिक चरणमा मतदान गर्न समय लागेको बताइएको छ ।
शीर्ष नेताहरूले मतदान गरेपछि अन्य प्रतिनिधिहरूले पनि क्रमशः भोट खसालिरहेका छन् । मतदानस्थलमा प्रतिनिधिहरू लामबद्ध भएर पालो कुर्दै मतदान गरिरहेका छन् भने सोही लाइनमा पुगेर उम्मेदवारहरूले भोट माग्ने क्रम पनि जारी छ ।
महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व चयन हुने भएकाले मतदान प्रक्रियालाई चासोका साथ हेरिएको छ ।










