२८ मंसिर २०८२, आईतवार
,
Latest
मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट



अ+ अ-

मोरङ।  जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो ।

गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ ।

“खेतीयोग्य जमिन आसपासका खोलानाला मास्ने क्रम बढ्दो भएकाले पानीको निकास हुन सकेन र पाकेको धानमा बढी क्षति पुगेर उत्पादन घटेको हुनसक्ने हाम्रो अनुमान छ”, कृषिविज्ञ राजेन्द्र उप्रेतीले भन्नुभयो । उहाँले यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताउनुभयो ।

बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताउनुभयो । धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्री बताउनुहुन्छ ।

यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको उहाँले सुनाउनुभयो । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको खत्रीले जानकारी दिनुभयो । रासस