काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने ११औं महाधिवेशनको उद्घाटन समारोहका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रण दिएको छ।
एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवास पुगेसँगै निम्तो हस्तान्तरण गरिएको हो।
एमालेको निमन्त्रणप्रति सभापति देउवाले सकेसम्म कार्यक्रममा सहभागी हुने आश्वासन दिएको बताइएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा संक्षिप्त छलफल समेत भएको बुझिएको छ।
छलफलको क्रममा देउवाले संसद पुनर्स्थापनाको अपरिहार्यताबारे जोड दिएका थिए। एमालेको महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिँदै आएको छ।










