४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

घुम्नैपर्ने ठाउँ बर्येडाँडा

घुम्नैपर्ने ठाउँ बर्येडाँडा
अ+ अ-

तनहुँ । कुनै समयमा मानिसहरु एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरु समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।

निजी प्रयासमा शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पार्क निर्माण भएसँगै यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको विकास हुँदै गएको छ । पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा पर्ने यस पार्कमा घुम्नका लागि मानिसहरु विभिन्न जिल्लाबाट आउने गरेका छन् । यहाँ सुन्दर र शान्त वातावरणमा बस्न, खाना र घुम्ने व्यवस्था भएसँगै सबै उमेर उमेरका मानिसहरुको आकर्षण बढेको हो ।

सहरको कोलाहलबाट मुक्ति पाउनका लागि राजमार्गबाट नजिक दूरीमा रहेको यस पार्क नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको व्यास नगरपालिकाका पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले नजिकबाट नियाल्दा सुन्दर, शान्त, मनोरमका साथै धार्मिक र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको पार्कले सबैको मनमा आनन्दको अनुभूति दिलाउँछ ।”

पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब २० रोपनी क्षेत्रफलमा आकर्षक पार्क र रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ निर्माण गरिएका पार्कको साथै उत्तरतर्फ रहेको हरियाली जङ्गल र कुम्लेखोलाको कलकल आवाजले परिवारसहित घुम्न जानेहरुका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको नेपाल बार एसोसिएसन तनहुँका पूर्वअध्यक्ष अधिवक्ता भानुभक्त सुवेदीले बताउनुभयो ।

यहाँ दैनिक ३०० देखि ४०० सम्म आन्तरिक पर्यटकहरु भ्रमणमा आउने गर्दछन् । यहाँको मनोरम दृश्यले आफूलाई आकर्षण गरेको पहिलोपटक घुम्न आउनुभएका व्यास नगरपालिका–१ भादगाउँ निवासी हरिप्रसाद भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तीनखोले मन्दिरमा दर्शन गर्न आएको समयमा हेर्न भनेर यहाँ आएको हुँ, अर्को पटक एक दिन बास बस्नेगरी समय मिलाएर आउने योजना बनाएको छु ।”

जिल्लाकै भिमाद नगरपालिकाबाट आउनुभएका राम बानियाँले पारिवारिक वातावरणमा घुम्नका लागि आनन्दको ठाउँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक मनोरम दृश्यले जो कसैको मन खिच्ने किसिमको भएकाले मनमा शान्ति र आनन्दको अनुभूति गर्न सकिनेछ ।”

विभिन्न साहसिक खेलहरुका लागिसमेत पनि यो क्षेत्र उपयुक्त मानिएको छ । घनाजङ्गलको भएकाले यहाँ आध्यात्मिक गतिविधिका लागि ध्यान केन्द्रलगायत विविध प्राकृतिक पर्यटकीय आकर्षण केन्द्र बनाउन सकिने झाँगाझोली सञ्चालक शङ्करप्रसाद अधिकारीले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन विकासमा ध्यान दिने हो भने गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यटन गन्तव्य बन्न सकिने उहाँको बुझाइ छ ।

सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गर्न लागिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्रहालयमार्फत घुम्न आउने पर्यटकलाई जानकारी गराइनेछ । झाँगाझोली एग्रो टुरिजम प्रालिको सम्पूर्ण निमार्णका काममा केही समय लाग्ने देखिए पनि हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापनसहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ ।

झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनाका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् । सिन्धुली जिल्लाको झाँगाझोलीको झल्को पाइने यस ठाउँलाई त्यही रुपमा विकास गर्न लागिएको अर्का सञ्चालक वासुराज दाहाल बताउनुहुन्छ । बिपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिरसमेतका सम्पदाहरु समेटेर तनहुँ झाँगाझोली सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडास्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण गरिनेछ ।

हाल सुनकोशी गाउँपालिकाअन्तर्गत रहेको दुम्जा कोइरालाहरुको पुख्र्यौली थलो मानिन्छ । पूर्वप्रधानमन्त्री बिपी कोइराला, मातृका कोइराला र गिरिजाप्रसाद कोइरालाको बुबा कृष्णप्रसाद कोइरालाको जन्मथलो झाँगाझोलीको दुम्जा हो । सिन्धुली झाँगाझोलीका बोहोरेटार, गुठ बजार, रातामाटा, कालीमाटी, लक्ष्मीडाँडाजस्ता गाउँहरुको नामबाट तनहुँको झाँगाझोलीमा घरहरु निर्माण गरिनेछन् ।

सातवटै प्रदेशका विशिष्टीकृत, उत्पादनको प्रवद्र्धनका लागि प्रादेशिक कोसेली घरसमेत निर्माण गर्ने योजना रहेको छ । तनहुँ झाँगाझोलीमा विशेष आकर्षणका रुपमा ‘गौरादेवी नेचुरल हर्बल पार्क’ निर्माण गरेर थप आकर्षण बनाइएको अर्का सञ्चालक उज्ज्वल पौडेलले जानकारी दिनुभयो । यहाँ विशेष तरिकाले निर्माण गरिएको हर्बल पार्कमा विभिन्न जातका जडीबुटी रहेका लगाइएकाले अध्ययन केन्द्रका रुपमा विकास गरिएको छ । यहाँ जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका जनावर तथा पक्षीहरुका मूर्ति राखिएका छन् ।

झाँगाझोली हुँदै बग्ने कञ्चनकुम्ले खोलामा मानव निर्मित सुन्दर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ताल निर्माण र जङ्गल सफारी बनाउनेतर्फ पनि छलफल भइरहेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको छ ।”

खोलाको वरपर रहेको घनाजङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा आउने पर्यटकलाई मुग्ध बनाउने गर्दछ । चालु आर्थिक वर्षमा झाँगाझोलीदेखि दरगाउँसम्म सडकको स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि झाँगाझोली आवतजावतमा अझ सहज हुनेछ ।

‘शुक्लागण्डकीको पहिचान झाँगाझोलीको योगदान कृषि र पर्यटन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कृषि तथा पर्यटनसम्बन्धी कार्यलाई अगाडि बढाएको छ । झाँगाझोली क्षेत्रलाई एकेडेमी रिसोर्टका रुपमा अघि बढाउने लक्ष्य रहेको छ । रासस