काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारलगायतका समूहले आज पार्टी एकता गर्ने भएका छन् ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहलगायतले निर्वाचनमा जान पार्टी एकता गर्न लागेका हुन् ।
काठमाडौंमा वृहत् कार्यक्रम गरी एकता घोषणा गर्न लागिएको हो । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।
नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ ।
नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।
गत कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।
पछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए ।
कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए ।
पार्टी घोषणा कार्यक्रमको अध्यक्षता भने सन्तोष परियारले गर्नेछन् ।
निर्वाचन आयोगमा यो दल दर्ता भइसकेको छ ।










