४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने

बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
photo: RSS
अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।

बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।

पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताउनुभयो । पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन ।

बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ । नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ ।

पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

सत्ययुगमा वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ ।

यस्तो महत्त्व बोकेको मेलाका लागि कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको जनाइएको छ ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गरिने निर्णय पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।

दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । मङ्गलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० लाई अनुरोध गरिएको छ ।

मेला अवधिभर गौशालाबाट भुवनेश्वरी मन्दिरअघिसम्म मात्र पसल राख्न दिइने निर्णय भएको सदस्यसचिव जोशीको भनाइ छ । सुरक्षा निकायको सहयोग लिई कोषले पसलको व्यवस्थापन गर्नेछ । कैलाश चौरमा पसल राख्न नदिने, पाल टाँगेर बत्ती बाल्नका लागि ठाउँ उपलब्ध गराइने छ । कैलाश चौरका कुनाकुनामा भने निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी भइरहेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।

मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने भएको छ । शतबीज छर्ने भक्तजनको घुइँचो हुने भएकाले यस्तो निर्णय गराएको जानकारी पनि उहाँले दिनुभयो । बाला चतुर्दशी पर्वमा स्वयंसेवा गर्न चाहने संस्थालाई कोषको निर्देशनअनुसार मात्र गर्न दिइने छ । रासस