४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान
अ+ अ-

बरहथवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल यस क्षेत्रमा पर्यटक नआउँदा स्थानीय व्यवसायीसमेत पलायन भएका छन् । चन्द्रनगर गाउँपालिका–७, निवासी ४५ वर्षीया ललिता भगतले नाढीमन ताल नजिकै कस्मेटिक पसल सञ्चालन गर्नुभएको छ ।

ताल घुम्न आउने पर्यटकलाई लक्षित गरेर उहाँले सञ्चालन गर्नु भएको पसल नचलेपछि उहाँ चिन्तामा हुनुहुन्छ । उहाँले यस ठाउँमा पसल चलाउनुभएको १० वर्ष हुन लाग्यो । उहाँका अनुसार सुरुमा पसल राम्रो चलेको थियो । दैनिक पाँच हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो ।

यस तालमा नेपालसहित भारतको विभिन्न स्थानबाट पर्यटकसमेत आउने गरेका थिए । पर्यटकको सेवाका लागि भनेर ताल परिसरमा होटलसहित विभिन्न पसल व्यवसाय सञ्चालनमा पनि आए । तर, २०७२ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत नेपाली सेनाले सरसफाइसँगै निर्माण गरिदिएको संरचनामा जीर्ण भएपछि तालको अवस्था उस्तै बनेको हो ।

विसं २०७३ असारमा आएको बाढीले सदरमुकाम मलङ्गवाबाट तालसम्म पुग्ने केही सडक बगाएपछि अवस्था थप बिग्रिएको हो । तालसम्म पुग्ने सडकको दुरावस्थाकै कारण भारततर्फबाट पर्यटकहरू आउन छाडेका स्थानीयको कथन छ । क्रमिक रुपमा ताल व्यवस्थापन तथा प्रचारप्रचारमा समेत अस्तव्यस्तता देखिएपछि तालसम्म आउने आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटक घटेका उहाँले बताउनुभयो ।

तालसम्म पुग्न नेपाल–भारत सीमास्थित भारतको सोनवर्षा बजारबाट १२ किलोमिटर र पूर्वपश्चिम लोकमार्गबाट पनि उत्तिनै दूरी तय गर्नुपर्छ । दुवैतर्फको सडकमा अहिले पनि केही भाग कच्ची सडक छ । यसले गर्दा पर्यटकहरूले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । व्यवस्थित सडक सञ्जाल नभएकै कारण यस क्षेत्र ओझेलमा परेको स्थानीयको दाबी छ । “यसको विकास नभएकै कारण एकपटक आएका पर्यटक फर्केर आएनन्”, उहाँले भन्नुभयो, “सम्भावना देखेर सुरु गरेको व्यवसायसमेत चौपट भयो । हामीलाई दैनिकी गुजार्नसमेत धौधौ छ ।” पालिकाको आन्तरिक बजेट नभएकाले गर्दा यस क्षेत्रको विकासका लागि सङ्घ वा प्रदेश सरकारले लगानी गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

छिमेकी पालिका बागमतीमा केही समय पहिला निर्माण गरेको कृत्रिम भरत ताल गुल्जार हुँदा प्राकृतिक नाढीमन पर्यटकको नजरमा नपरेको उहाँले दुःखेसो पोख्नुभयो । पर्यटक आउन छाडेपछि अहिले दिनमा पाँच सय रुपैयाँको पनि व्यापार नहुने भगतको भनाइ बताउनुहुन्छ । ताल व्यवस्थित भए यस क्षेत्रका सयौँ व्यक्ति स्वरोजगार हुने अर्का स्थानीय महेन्द्र कापरले आशा ब्यक्त गर्नुभयो ।

चन्द्रनगर गाउँपालिका–६, निवासी उहाँ सोही ताल किनारमा रहेको मरिचिमानेश्वर महादेव मन्दिरमा पुजारी हुनुहुन्छ । यस ऐतिहासिक स्थलको प्रवद्र्धनमा जनप्रतिनिधिसमेत उदासिन बनेका उहाँको गुनासो छ । “कसैले ध्यान नदिएका कारण यो अलपत्र परेको छ”, कापरले भन्नुभयो, “दुई वडामा यो ताल छ । दुवै वडाले अहिलेसम्म एक रुपैयाँ बजेट हालेका छैनन् ।”

यस ऐतिहासिक, प्राकृतिक तथा धार्मिक सिमसार क्षेत्रका रुपमा रहेको नाढीमन ताललाई कुनै सरकारले नहेरेको चन्द्रनगर गाउँपालिका–७, निवासी बेचु साहले गुनासो गर्नुभयो । सङ्घ सरकारले पनि घोषणा गर्नेबाहेक केही नगरेको उहाँको तर्क छ । “घोषणा गरेर मात्र केही हुँदैन”, उहाँले भन्नुभयो, “विकास गर्नुपर्छ, लगानी गर्नुपर्छ, ताललाई पर्यटकको रोजाइको केन्द्र बनाउनेतर्फ ध्यान गएको छैन रु”

यस क्षेत्रको आर्थिक, समाजिक, धार्मिक तथा सांस्कृतिक विकासको लागि एकमात्र उपाय तालको विकास भएको साहले ठोकुवा गर्नुभयो । ताल व्यवस्थापन मात्र हुने हो भने यहाँका हजारौँले रोजगारी पाउने, स्थानीयको आयआर्जन बढ्ने, स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारलेसमेत ठूलोमात्रामा राजस्व आर्जन गर्ने बलियो स्रोत बन्ने उहाँले सुनाउनुभयो । अस्तव्यस्तताले चन्द्रनगरवासी सुनको अण्डा बोकेको भिखारी देखिएको उहाँको कथन छ ।

माछापालका लागि ताल ठेक्का लगाएर मात्र यस पालिकाले बर्सेनि करोड बढी राजस्व सङ्कलन गरिरहेको थियो । तर, राजनीतिक खिचातानीका कारण बढेको आन्तरिक कलहपछि आन्तरिक राजस्वमासमेत ठूलो असर परेको छ । पछिल्लो समय पालिकाले तालको विकासको लागि चौतर्फी पहल गरिरहेको पालिका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । आफू निर्वाचित भएर आएपछि सबैभन्दा सुरुमा तालको अतिक्रमण हटाउन पहल थालेको अध्यक्ष महतोको भनाइ छ । यस तालको पुरानो क्षेत्रफल ५२ बिघा रहेको स्थानीयको दाबी रहेपछि अतिक्रमणका कारण हाल यस ताल ३५ बिघा क्षेत्रफलमा खुम्चिएको छ । यसले ताललाई आकर्षक बनाउने र पर्यटक पहिलाको भन्दा धेरै आउन सुरु गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आफूले पालिकाकोतर्फबाट मधेस र सङ्घ सरकारसँग यस क्षेत्रको विकासका लागि पहल गर्दा कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । निकै पहलपछि मधेस प्रदेश सरकारले ताललाई प्रदेश गौरवको आयोजनाका रुपमा समावेश गर्ने र सङ्घ सरकारले १०० उत्कृष्ट घुम्नैपर्ने स्थानका रुपमा सूचीकृत गर्नेबाहेक कुनै काम नगरेको उहाँको भनाइ थियो । पालिका आफैँले भने तालको इतिहासको खोजी, अध्ययन र दस्तावेजीकरणको कार्य अगाडि बढाएको छ ।

गाउँपालिका अध्यक्ष महतोका अनुसार ठेकेदारले माछा निकाल्न भन्दै २०८० मा पोखरीको पानी सबै सुकाएपछि ताल गौचरणमा परिणत भएको थियो । त्यसपछि झन पर्यटकमा नराम्रो छाप परेको उहाँको दाबी छ । तालको दिगो विकास र प्रवद्र्धनको उद्देश्य राखेर पालिकाले वृक्षरोपण तथा सरसफाइलगायत कार्यलाई सञ्चालनको तयारी गरेको जनाएको छ ।

ताल परिसरमा प्रत्येक वर्ष भव्य महोत्सव लाग्ने गरेको स्थानीय महन्त महेन्द्र कापरले बताउनुभयो । मेलामा नेपालसँगै भारतको विहार राज्यका विभिन्न जिल्लाबाट धार्मिक पर्यटकको ओइरो लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तालमा सञ्चालनका लागि पाइडल र मोटरबोटसमेत पालिकाले ल्याएको छ तर पर्यटक अभावमा प्रयोग हुन नसक्दा ती बोटहरु ताल किनारमा अलपत्र छ ।

यसैबीच हिन्दू धर्मग्रन्थ महाभारतमा उल्लेख भएको यक्ष दह नै चन्द्रनगरको नाढीमन ताल रहेको हुनसक्ने सम्भावनासहित पालिकाले यसको अध्ययन सुरु गरेको अध्यक्ष महतोले जानकारी दिनुभयो । रासस