२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एजेन्डाविहीन नेपाली कम्युनिस्ट पार्टी, ओलीको आलोचना मै केन्द्रित



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १२ वटा वामपन्थी दल र समूह मिलेर गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले आगामी चुनावपछि आफूलाई सबैभन्दा ठूलो दल बनाउने बताइरहेको छ । ती सबै दलका कार्यकर्ता कति छन् अझै यकीन नभए पनि नेताहरुको भने थुप्रो नै लागेको छ । नेपाली कम्युनिस्ट पार्टीमा नेपालका तीन जना पूर्वधानमन्त्री र तीन जना त पूर्वसभामुख मात्र छन् । मन्त्री हुनेहरुको संख्या त झन् निकै ठूलो छ ।

२ वटा घटक मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीका नेताहरु अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा केन्द्रित छन् । धेरै वटा घटक मिलेर अस्तित्व रक्षाका लागि एउटै दल बनाउनु परेको यथार्थ हुँदाहुँदै अहिले उनीहरुले एमाले र अध्यक्ष ओलीको आलोचना मात्र गरिरहेका देखिन्छ । पार्टीलाई अघि बढाउन ठोस योजना छैन । जनतालाई विश्वस्त हुने आधार उनीहरुसँग छैन ।

जेन–जी विद्रोहपछि राजनीतिक दलहरुको सरकार विस्थापित भएको छ । जनतामा दलहरुप्रति कति वितृष्णा छ भन्ने नेताहरुले अझै बुझेको देखिँदैन । उनीहरु अहिले पनि विभिन्न समूह मिलेर बलियो बन्ने रणनीति बनाइरहेका छन् । तर जेन–जीले उठाएका माग र एजेन्डामा उनीहरुको ध्यान गएको छैन । फगत अरुलाई गाली गर्ने र आफू मात्र राम्रो हो भन्ने देखाउने होडबाजी उनीहरुको छ ।

नेपाली कम्युनिस्ट पार्टीको कमान्डर तीनपटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल हुन् । उनलाई संयोजक बनाइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सहसंयोजक बनाइएको छ । अरु पदाधिकारी नतोकिए पनि वरियताको शीर्ष स्थानमा उनै अनुहार छन्, जो पटकपटक सत्ता र शक्तिमा रहिसकेका छन् । देशलाई केही उपलब्धि दिलाउन नसकेका नेताहरुको थुप्रो लगाएर संयोजक दाहाल परिवर्तनको वकालत गरिरहेका छन् । त्यसलाई साथ दिइरहेका सहसंयोजक नेपाल ।

अघिल्लो निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको र संसद्मा दोस्रो ठूलो दल बनेको नेकपा एमाले नै अहिलेसम्मको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हो । तर अहिले गठन भएको नेपाली कम्युनिस्ट पार्टीले अब आफूहरु देशकै ठूलो दल बन्ने दाबी गरिरहेको छ । तर त्यसका लागि के गर्नुपर्छ भन्ने उसले सोचेको छैन । विगतमा एमालेमै रहेका केही वा नेकपा कालमा सँगै भएका सचिवालय सदस्यहरुको बहुमत आफूतिर ल्याउन सकेकोमा कमान्डर दाहाल सन्तुष्ट छन् ।

चार वर्षअघि एमालेलाई विभाजन गराएका माधवकुमार नेपाल, झलनाथ खनाल अहिले दाहाल नेतृत्वको दलमा समाहित भएका छन् । एमालेमै लामो समय काम गरेका र उपाध्यक्षसम्म भएका वामदेव गौतम र भीम रावल पनि अहिले दाहालकै साथमा आइपुगेका छन् । उनीहरुको सहभागिताले दाहाल हौसिएका छन् । जबकी उनले विगतमा तिनै नेताले दिएको धोका बिर्सिएका छन् ।

विभिन्न घटकमा विभाजित हुनुभन्दा एकजुट भएर अगाडि बढ्नु पक्कै पनि राम्रो हो । तर त्यसरी जान नीति र सिद्धान्त मात्र होइन काम गराइ पनि मिल्नुपर्छ । अहिले नेपाली कम्युनिस्ट पार्टीको ध्यान फगत नेता जम्मा गर्नेतर्फ देखिएको छ । उसले अहिलेसम्म आफ्ना एजेन्डा सार्वजनिक गरेको छैन । जेन–जीले उठाउँदै आएका माग आफूहरुले विगतदेखि नै उठाएको भन्दै जस लिने मात्र होइन, जेन–जी विद्रोह हुनुको मुख्य कारक नै एमाले अध्यक्ष ओली भएको देखाइरहेको छ ।

देशमा परिवर्तन गर्न नचाहने व्यक्तिका रुपमा ओलीलाई चित्रित गर्ने प्रयास नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले गरिरहेका छन् । ओलीलाई गाली गर्ने एक मात्र एजेन्डा यो दलमा देखिएको छ । त्यसबाहेक देशको परिवर्तनका लागि कुनै ठोस योजना छैन । बरु नेताहरु भित्रभित्रै रुपमा पार्टीमा आफ्नो पोजिसन खोज्न थालिसकेका छन् ।

दाहालले नेतृत्व गरेको भए पनि नेकपाको शीर्ष तहमा पूर्वएमाले नेताहरूको बलियो उपस्थिति छ । माधव, झलनाथ, वामदेव र भीम पूर्वएमाले हुन् । यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाको सचिवालयका ९ जनामध्ये ५ जना नेकपामा अटाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले पनि नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा बहुमत सचिवालय सदस्य फेरि एक ठाउँमा भएकाले मूलधारको कम्युनिस्ट पार्टी आफूहरू भएको दाबी गरिरहेका छन् ।

विगतमा नेकपा विभाजन भएको विफलतालाई समीक्षा गरेर नयाँ पार्टी अगाडि बढ्ने उद्घोष नेताहरुले गरे पनि समीक्षामा उनीहरुको चासो छैन । ओलीको आलोचना गर्दैमा उनीहरुले जनताको भावना समेट्न सक्दैनन् । नेपाली कम्युनिस्ट पार्टीले पटकपटक परीक्षण भइसकेका नेताहरुको थुप्रो लगाउँदैमा भ्यागुताको धार्नी पुग्ला ?