काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षर गर्न पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिनुभएको हो ।
महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरुले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गर्नुभयो ।
महासचिव विप्लवले भन्नुभयो,‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रुपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टी भन्दा बाहेक बाहिर अरु साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । र जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ । कम्युनिष्ट पार्टी एकताको बहसमा त नेपालमा जारी नै छ । आज तपाईले हेर्नुभयो होला नेपालमा कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने हाम्रो प्रस्ताव छ । हामी यहाँसम्म आएका छौं । नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनैपनि काम गरेको पनि छैन । र गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । र जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौ ।’
‘आजसम्म नेकपा मात्रै एउटा हो, जो जनतासँग जोडिएर काम गरेको छ । जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईहरुकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद परिणामहरु छन् । त्यसको शिक्षासहित नेकपाले हामीले देशलाई अपिल पनि गरेका छौँ । जनताले साथ दिएभने यो देशका युवाहरुलाई म नेपाली हुँ भन्ने स्वाभिमानीपूर्ण जीवन दिने हाम्रो चाहना छ । हामी देशभरी जाँदा तपाई आउनुस् भन्ने जनताको सुझाव छ । नेकपा जसले अहिलेसम्म देशलाई सम्पूर्ण रुपले आफ्नो जीवन समर्पित गरेको छ । त्यस आधारमा । हामीले तीन वटा कुरा सोचेका छौँ । नम्बर एक एउटा नयाँ कम्युनिष्ट केन्द्रको लागि पहल गर्ने । दोस्रो समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने । तेस्रो तत्काल नेपालको जो अस्थिर संकटपूर्ण राजनीति छ । त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरुसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिष्ट हरुसँग मिलेर निकासका लागि पहल गर्ने । अहिले चुनावको वातावरण बनिसकेको छैन । त्यो त साँचो हो । तर एक दिन त चुनाव हुन्छ ।’
महासचिव विप्लवले नयाँ एउटा कम्युनिष्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा मिलेर जाने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल गरिएको पनि बताउनु भयो ।










