काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन् ।
शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबिच भएको भेटपछि मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।
तीन नेता बीच पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । मुलुकको आवश्यकताअनुसार सहकार्यका लागि एकताबद्ध भएर जाने महासचिव भूसालले बताए । बैठकपछि बोल्दै उनले भने ,‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी हामी सहकार्यलाई विकसित गर्दै जानेछौं । हामी एकताबद्ध भएर जानेछौं ।’
आफुहरुबिच विगतमा पनि सहकार्य भएको भन्दै उनले अब थप मजबुद हुँदै जाने र पुराना कमिकमजोरीको समीक्षा गरिने उनले बताए ।










