काठमाडौं । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार गएको मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक भूकम्प गएको हो ।
अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो ।
अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।
गएरातिको ६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन् । जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी जैदले भने, ’हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ ।’
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा देशका धेरै प्रान्न फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएको भनिएको छ ।
भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको छ ।
मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।
सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन् ।
गत अगस्टमा पनि अफगानिस्तानको पूर्वी भागमा ६ म्याग्निच्युडको भूकम्पले कम्तिमा २ हजार २०० जनाको मृत्यु र हजारौंको घाइते भएका थिए ।
त्यस्तै, २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको अर्को भूकम्पमा २,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।










