काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण इलाममा भएको विपदबाट पीडित परिवारप्रति समवेदना प्रकट गर्दै राहत–उद्धारका कामलाई तीव्र बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहेको बताएका छन् ।
इलाम–२ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनःस्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराएका हुन् ।
गत केही दिनदेखि आएको भारी वर्षाले देशभर ५० भन्दा बढी र इलाममा मात्रै ३७ जनाको ज्यान गएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । घर ध्वस्त, सडक भत्किएको, विद्युत् आपूर्ति र सञ्चार अवरुद्ध भएपछि जिल्लावासी थप कठिनाइमा परेको उनले बताएका छन् ।
भेटबारे जानकारी दिँदै उनले भनेका छन्, ‘इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन् । घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ ।’
उनले मन्त्रालय र प्राधिकरणसँगको छलफलका भएको ४ विषयसहित मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने, एक जना गुमाएको खण्डमा २ लाख रूपैयाँ र एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रूपैयाँका दरले क्षतिपूर्ति दिने (पालिकाबाट व्यवस्थापन गरिने)बारे पनि छलफल भएको बताएका छन् ।
नेम्वाङले नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय प्रशासन र समुदायलाई निरन्तर उद्धार कार्यमा खटिएकामा धन्यवाद ज्ञापन गरेका छन् । उनले विशेष गरी गृहसचिव, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गृह तथा भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई तत्कालीन सहयोग र उद्धार पहलका लागि आभार व्यक्त गरेका छन् ।
भविष्यमा यस्ता विपद दोहोरिन नदिन भूगर्भ परीक्षण, दिगो व्यवस्थापन र एकीकृत बस्ती निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता नेम्वाङले जोड दिए।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो,” भन्दै उनले सबै नेपालीलाई सक्दो सहयोग गर्ने, प्रभावित परिवारलाई सहानुभूति र संवेदनशीलता देखाउन अपिल गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह पनि गरेका छन् ।











