काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले निजी क्षेत्र र स्थानीय तहलाई पनि वन्यवन्तु उद्यान तथा संरक्षणका क्षेत्रमा लगानी गर्नसक्ने कानूनी व्यवस्था मिलाउने तयारी भइरहेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रिय संरक्षण दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वन ऐन तथा नियमावली संशोधनमार्फत निजी क्षेत्र र स्थानीय तहलाई चिडियाखाना र वनस्पति उद्यान स्थापना गर्ने अधिकार दिन कानूनी प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले समुदायले वन र वन्यजन्तु संरक्षणको लागि अगाडि बढेको खण्डमा रोक्ने नभई आवश्यक कार्यविधि बनाएर बाटो खोलिदिनुपर्नेमा उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘जूहरुको स्थापना गर्न निजी क्षेत्र र स्थानीय तहले पनि पाउनुपर्ने कुरा को लागि मैले आएदेखि नै भनिरहेको छु कार्यविधि छिटो टुंग्याउँ । निजी क्षेत्र र स्थानीय तहले पजि वनस्पती उद्यानहरु बनाउन पाउनु¥यो । निकुञ्जहरुहरुमा प्रदेश सरकारले अथवा स्थानीय तहले लगानी गर्ने अधिकार प्रदानको लागि हामी वन ऐनको नियमावली संशोधनको क्रममा पनि गएका छौं । स्थानीय तह र प्रदेशले जू बनाउँदा वनको प्रयोग गर्न दिने कि नदिने भन्ने विषय छलफलको क्रममा छ । तर हामीले त्यसको निजी क्षेत्रको सक्रिय सहभागिताको पनि कुरा राखेका छौं । सामुदायिक संरक्षण क्षेत्रसम्बन्धी कार्यविधि छिटो टुंग्याउँ । यदि दुई तीन स्थानीय तहहरु मिलेर संरक्षण क्षेत्र बनाउन खाजिरहेका छन् भने तिनलाई हामीले किन रोक्ने ? हामी उनीहरुको लागि कार्यविधि बनाएर बाटो खोलिदिने हो भने हाम्रो भन्दा राम्रो संरक्षण क्षेत्र स्थानीय तहले बनाउनेछन् ।’
विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले स्रोत र जनशक्तिको अभावमा वन र वन्यजन्तु संरक्षणको विषय चुनौतीपूर्ण बन्दै गइरहेको बताउनु भयो । उहाँले देशभरको संरक्षणको लागि सरकारी बजेट मात्र पर्याप्त नहुने पनि बताउनु भयो । देशका विभिन्न ठाउँमा हुने घटनामा उद्धार र राहतका लागि तत्काल मान्छे पठाउन गाह्रो हुँदा मान्छेहरुमा विभागप्रति नकारात्मकता बढेकोप्रति उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय वन तथा वनजन्तु संरक्षणको विषय चुनौतिपूर्ण बन्दै गएको छ । सरकारको बजेटले मात्रै संरक्षण गर्न गाह्रो पर्ने रहेछ । देशका विभिन्न ठाउँमा त्यस्ता घटना हुने हुँदा हाम्रो निकायबाट मान्छे पठाएर उद्धार गर्न पनि गाह्रो भएको अवस्था छ । हामीले तुरुन्तै रेस्क्यू र राहतको व्यवस्था गरेनौं भने नागरिकमा हामीप्रति नकारात्मकता पनि बढ्ने हुन्छ । त्यसकारण यो समस्याको समाधानका लागि हामी कसरी अगाडि बढ्ने हो भन्नेकुरामा गम्भीर छलफल गरेर मात्रै अगाडि बढ्नुपर्ने देखियो ।’
आज देशभर राष्ट्रिय संरक्षण दिवस मनाइँदैछ । वि.सं २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो ।










