काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रिय कमिटीले तयार पारेको दोस्रो विधान महाधिवेशनका लागि प्रश्तावित विधान संशोधन प्रश्ताव ठिक रहेको बताउनुभएको छ ।
बिहीवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका विभिन्न जनवर्गीय संगठन र कमिटीहरुले बुझाएको सुझावलाई ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो ।
महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रिय कमिटी बैठकले सुझावका लागि मातहतको कमिटीहरुलाई पठाएको सो प्रश्तावित संशोधन प्रश्ताव सैद्धान्तिक र आधारभुत दुवै रुपमा सही रहेको र त्यसमा सम्बन्धित पक्षले आफूहरुको हितमा केन्द्रित भएर सुझाव दिएको पनि जानकारी दिनुभयो । पार्टीका युवा, महिलालगायतका सम्बन्धित वर्ग र समुदायले आफूहरुको हितमा जोड दिएर सो प्रश्तावित विधान संशोधनका लागि रायहरु आएको पनि महासचिव पोखरेलको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रश्तुत गरिने विधान संशोधन प्रश्ताव तयार गरेर मातहत कमिटीहरुमा छलफलका लागि पठाएको थियो । र त्यो छलफलबाट प्राप्त भएका सुझावहरु केन्द्रिय कार्यालयमा पठाउने क्रमको आज अन्तिम दिन बनाउन खोजिएको छ । त्यस अर्थमा आज देखिराख्नुभएको छ । आज संघसंघठन र पार्टी कमिटीहरुले आफ्नो तर्फबाट विधानको सन्दर्भमा सुझावहरु प्रस्तुत गर्ने काम गरिरहनु भएको छ । र, अधिकांश संगठनहरुले पार्टी केन्द्रिय कमिटीले तयार गरेको प्रश्ताव आधारभुत रुपमा र सैद्धान्तिक रुपमा ठिक रहेको र, आफ्नो समुदायको सन्दर्भमा र वर्गका सन्दर्भको बारेमा सरोकारका विषयहरुलाई सम्बोधन गरियोस् भन्ने कुरालाई जोड दिएको अवस्था छ । त्यस अर्थमा आफ्नो समूदायको हित र सरोकारका विषयमा केन्द्रित भएर सुझावहरु दिनुभएको छ । युवा संघले युवाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । अनेमसंघले महिलाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । यसै प्रकारले आफ्नो समुदायको हितको सन्दर्भमा जोड दिएर सुझावहरु दिनुभएको छ ।’
एमालेको सो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुँदैछ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ सहभागी हुने बताइएको छ । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ८ वटा उपसमिति बनाएर तयारीको कामलाई तिब्रता दिइएको एमालेले जनाएको छ ।









