२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण नुवाकोट, रसुवा, धादिङ र चितवनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता लामाले विपद्ग्रस्त क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाउन सरकार र पार्टीको ध्यानाकर्षण गराउनुभयो ।

लामाका अनुसार प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय क्षति भएको छ भने अझै धेरै मानिस बेपत्ता छन् । बाढीले गोसाइँकुण्ड र मानसरोवर जाने तीर्थयात्री, भन्सारका कर्मचारी, सवारी चालक तथा जलविद्युत् आयोजनामा कार्यरत श्रमिकहरू प्रत्यक्ष प्रभावित भएको उहाँले बताउनुभयो ।

बाढीका कारण ४१ वटा पुल बगेपछि प्रभावित क्षेत्रको सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको छ भने कतिपय मानिस सुरुङभित्र फसेका छन् । धेरै परिवार घरबारविहीन भएका छन् ।

उद्धार कार्यमा राज्यको संयन्त्र अपेक्षाकृत कमजोर देखिएको भन्दै लामाले आवश्यक उपकरणको अभावले समस्या थपिएको बताउनुभयो । सेना र सशस्त्र प्रहरीसँग पर्याप्त उद्धार उपकरण नहुँदा खोज तथा उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ ।

यद्यपि, निजी क्षेत्रबाट तीनवटा एक्साभेटर उपलब्ध गराएर दुई जनाको जीवितै उद्धार गरिएको र बाँकी बेपत्ताको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

तत्कालको आवागमन समस्या समाधान गर्न प्रदेश सरकारसँगको समन्वयमा पाँचवटा तुइनको व्यवस्था गरिएको र देवीघाटमा ५५ मिटर लामो बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको लामाले बताउनुभयो । निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको तथा त्रिशूलीमा झोलुङ्गे पुल निर्माणको कामसमेत सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

विपद्बाट भएको क्षतिको वास्तविक तथ्यांक अझै संकलन हुन नसकेकोमा लामाले चिन्ता व्यक्त गर्नुभयो । बाढीका कारण त्रिशूली हाइस्कुलसहित ८ देखि ९ वटा विद्यालय विस्थापित भएकाले विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको उहाँले बताउनुभयो ।

विस्थापितलाई होल्डिङ सेन्टरमा राख्दा उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै लामाले सुरक्षित र व्यवस्थित पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले २७ मिनेटमा पुगिने ठाउँमा अहिले ११ घण्टा लाग्ने अवस्था छ । धादिङको फोस्रेटार जोड्ने एउटा पुलबाहेक अन्य सबै संरचना ध्वस्त भएका छन् । अभिभावक गुमाएका टुहुरा बालबालिका र विस्थापित परिवारको सही तथ्यांक संकलन गरी उनीहरूको व्यवस्थापन गर्नु आजको मुख्य चुनौती हो ।’

लामाले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । सडक विभाग, नेपाली सेना तथा प्रशासनका सबै संयन्त्रलाई पूर्णरूपमा परिचालन गर्नुपर्ने उहाँको भनाइ छ ।

आगामी दिनमा यस्ता विपद्को सामना गर्न आवश्यक उद्धार तथा राहतका उपकरण पहिले नै खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने सुझावसमेत उहाँले दिनुभयो।