१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दर्ता नै नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब

दर्ता नै नभएका व्यवसाय कमाउँछन् सवा दुई खर्ब
अ अ+ अ-

काठमाडौँ । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ छ । दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको सङ्ख्या सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार देशभर दुई लाख ७८ हजार ४५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपियाँ छ । यसअन्तर्गत विभागले ठूला सवारी तथा मोटरसाइकल मर्मत केन्द्रसमेत समेटेको छ । यसपछि आवास तथा खाद्य सेवासम्बन्धि गतिविधि गर्ने ८२ हजार ५०१ व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ ।

यस्ता व्यवसायले वार्षिक ६८ अर्ब ९५ करोड रुपियाँको आम्दानी गर्छन् । देशभर ५३ हजार ३२८ उत्पादनमूलक व्यवसाय पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ, जसले वर्षभर २४ अर्ब ४३ करोड रुपियाँ आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ । विभागले यस अध्ययनमा औद्योगिक व्यवसायको गणना गर्दा विभिन्न १७ वटा भागमा वर्गीकरण गरेको छ । तीमध्ये विद्युत्, ग्यास र कृषि व्यवसायबाहेक बाँकी अन्य सबै व्यवसायमा सानो सङ्ख्यामा भए पनि दर्ता नभई उद्योग सञ्चालन भएको पाइएको छ । दर्ता नभएका यी सबै व्यवसायमा गरी आठ लाख १३ हजार व्यक्ति संलग्न छन् ।

२९ खर्बको व्यवसाय, साढे आठ खर्ब नाफा
आर्थिक गणनाले देशमा सञ्चालित उद्योग तथा व्यवसायले वर्षभर २९ खर्ब १६ अर्ब रुपियाँको कारोबार गर्ने देखाएको छ । गणनाले समेटेको नौ लाख ९२४ उद्योग व्यवसायले उक्त रकम बराबरको आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ । यी सबै उद्योग व्यवसायमा गरेर ३१ लाख १५ हजार व्यक्ति आबद्ध छन् । उत्पादनमूलक उद्योगको वार्षिक कारोबार सबैभन्दा धेरै छ । प्रतिवेदनअनुसार उत्पादनमूलक उद्योगको वार्षिक आम्दानी मात्रै छ खर्ब ७४ अर्ब रुपियाँ छ । समग्र व्यवसायमा यसको हिस्सा २३.१ प्रतिशत छ । त्यसपछि थोक तथा खुद्रा व्यवसायको छ खर्ब एक खर्ब, वित्तीय संस्थाको दुई खर्ब ६५ अर्ब, शिक्षा क्षेत्रको दुई खर्ब ६४ अर्ब रुपियाँ छ । प्रतिएकाइ नाफाको आम्दानीको हिसाबले विद्युत् तथा ग्यास क्षेत्र सबैभन्दा अगाडि छ । यस्ता व्यवसायको प्रतिएकाइ नाफा ११ करोड ३० लाख रुपियाँ छ । २९ खर्बको कुल आम्दानीबाट उद्योग व्यवसायले आठ खर्ब ५३ अर्ब रुपियाँको आम्दानी गर्ने पाइएको छ ।

सबैभन्दा धेरै नाफा गर्नेमा थोक तथा खुद्रा व्यवसाय छ, जसको नाफा वार्षिक दुई खर्ब ५८ अर्ब रुपियाँ देखिन्छ । त्यसपछि शिक्षा क्षेत्रको एक खर्ब २२ अर्ब रुपियाँ छ । कुल आम्दानीको अनुपातमा नाफा गर्नेमा पनि शिक्षा क्षेत्र नै छ । शिक्षा क्षेत्रमा कुल आम्दानीको ४६.१ प्रतिशत नाफा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि थोक तथा खुद्रा व्यवसाय छ जसको नाफाको हिस्सा ४३ प्रतिशत छ । कुल आम्दानीमध्ये दर्ता भएका व्यवसायका आम्दानीको हिस्सा ९२ प्रतिशत अर्थात् २६ खर्ब ८२ अर्ब रुपियाँ छ । कुल नाफामा पनि दर्ता भएको हिस्सा ९१.५ प्रतिशत अर्थात् सात खर्ब ८१ अर्ब रुपियाँ छ । कुल आम्दानीमध्ये महिला प्रबन्धक भएका व्यवसायको हिस्सा ९.८ प्रतिशत छ । यसमध्ये पनि सबैभन्दा धेरै थोक तथा खुद्रा व्यवसायको २८.२ प्रतिशत अर्थात् ८० अर्ब रुपियाँ छ । कुल नाफामा महिला प्रबन्धक भएका व्यवसायको हिस्सा १०.९ प्रतिशत छ ।

क्षेत्रगत हिसाबले सबैभन्दा धेरै व्यवसाय हुने जिल्लामा काठमाडौँ रहेको छ । वर्षभर यहाँ आठ खर्ब ३२ अर्बको व्यवसाय भएको गणनाले देखाएको छ, जुन कुल व्यवसायको २८.५ प्रतिशत हो । त्यसपछि ललितपुरमा दुई खर्ब ८८ अर्ब, मोरङमा एक खर्ब ५५ अर्ब, रुपन्देहीमा एक खर्ब ३२ अर्ब र कास्कीमा एक खर्ब १७ अर्ब भएको पाइएको छ ।
कारोबारको हिसाबले सबैभन्दा कम मनाङ जिल्लामा हुने देखिएको छ । मनाङमा वर्षभर ५३ करोड ६० लाख रुपियाँको मात्र व्यवसाय भएको प्रतिवेदनमा उल्लेख छ ।
नाफाको हिसाबले पनि काठमाडौँ सबैभन्दा अगाडि छ । गणना वर्षमा काठमाडौँमा भएका व्यवसायबाट दुई खर्ब २२ अर्ब रुपियाँ नाफा भएको पाइएको छ । ललितपुरमा ७१ अर्ब, रुपन्देहीमा ३९ अर्ब, मोरङमा ३२ अर्ब ६० करोड, झापामा ३२ अर्ब र कास्कीमा ३० अर्ब ८० करोड रुपियाँ नाफा भएको तथ्याङ्कले देखाएको छ । सबैभन्दा कम नाफा पनि मनाङमै रहेको जहाँ कुल व्यवसायबाट १२ करोड २० लाख रुपियाँ नाफा भएको पाइएको छ ।

कुल व्यवसायमध्ये चार लाख ८५ हजार व्यवसायमा १५ देखि ३९ वर्ष उमेर समूहका व्यक्ति प्रबन्धक छन् । जसको वार्षिक कुल आम्दानी नौ खर्ब ९४ अर्ब रुपियाँ छ । चार लाख ४५ हजार ९८२ व्यवसायमा १५ देखि ३९ वर्ष उमेर समूहका व्यक्तिको स्वामित्व छ । कुल व्यवसायमध्ये चार लाख ११ हजार ८५० व्यवसाय भाडाको भवन अथवा कोठामा सञ्चालित छन् भने तीन लाख ९४ हजार व्यवसाय आफ्नै भवनमा सञ्चालनमा रहेको पाइएको छ । गोरखापत्र दैनिक