४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कानुनको उपयोग गर तर दुरुपयोग नगर

कानुनको उपयोग गर तर दुरुपयोग नगर
अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुर्पक्षका लागि अहिले नख्खु कारागारमा छन् । उनलाई सहकारी र संगठित ठगीको आरोप लगाइएको छ । सरकारले लगाएको आरोपलाई अहिले नै गलत भन्न नसकिने भन्दै अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तर लामिछाने र उनको दल रास्वपाले राजनीतिक पूर्वाग्रहका आधारमा थुनिएको आरोप लगाइरहेका छन् ।

रवि अहिले सरकारको आदेशमा थुनामा परेका होइनन् । न्यायालयले नै थुनामा पठाएको हो । तर सहकारी ठगी र संगठित अपराधसम्बन्धी लगाइएका आरोप र सोही आधारमा भइरहेको कानुनी कारबाहीले नेपालको न्याय प्रणालीका आधारभूत सिद्धान्तमाथि भने केही प्रश्न खडा गरेको छ ।

जनताबाट निर्वाचित प्रतिनिधि अझ संसद्को चौथो ठूलो दलका सभापतिलाई ठगीको आरोपमा लामो समयसम्म थुनामा राख्ने आदेशले कानुनी कठोरतालाई पुष्टि गरेको छ । उनीमाथि लागेको आरोप कति सही हो या गलत भन्ने त न्यायिक निरुपणपछि प्रष्ट हुने नै छ । तर सहकारी ठगीसम्बन्धी फौजदारी कसुरमा समेत मेलमिलाप हुनसक्ने नजिर एकातिर छ भने अर्कोतिर धरौटी बुझाए छुट्न पाउने व्यवस्था छ । तर रविले त्यो पाएका छैनन् । कतिसम्म भने उनले आफूमाथि दाबी गरिएको बिगोसमेत बुझाउन तयार भइसकेका छन् । तर जिल्ला अदालतले त्यसलाई स्वीकार नगरी विरोधाभास सिर्जना गरेको छ । उनी कहिलेसम्म कारागारमा बस्छन् भन्न सकिने अवस्था छैन ।

पटकपटक प्रधानमन्त्री भइरहेका र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले समेत रविलाई थुनामै राखेर मुद्दा टुंगो लगाउनुपर्ने आवश्यकता नरहेको बताइरहेका छन् । तर उनको भनाइ केबल राजनीतिक हो । कानुनी हिसावले रविलाई अब थुनेर नै मुद्दाको टुंगो लगाइने छ । दाहालको भनाइले कताकता अदालत पनि राजनीतिबाट प्रभावित भएको हो कि भन्ने आशंका जन्माएका देखिन्छ । भलै उनले रविलाई राजनीतिक प्रभावमा परेर अदालतले थुनामा पठाएको भनेर चाहिँ भनेका छैनन् ।

रवि अहिले रुपन्देहीको सहकारी ठगीको आरोपमा थुनामा परेका हुन् । यसका अतिरिक्त काठमाडौं, चितवन र पोखराका विभिन्न सहकारीको बचत अपचलनमा संलग्न भएको अभियोगमा मुद्दा विचाराधीन छन् भने पर्सामा समेत एउटा मुद्दा प्रक्रियामा छ । धेरै ठाउँमा रहेका मुद्दाले प्रतिवादीका लागि कानुनी प्रतिरक्षा गर्न जटिल हुन्छ ।

रविलाई थुनामा राखेपछि सहकारी बचतकर्ताले रकम फिर्ता पाउने होइनन्, बरु मुद्दाको प्रक्रिया लम्बिने मात्र होइन, रविलाई आफ्ना तथ्य संकलन गर्नसमेत समस्या हुन्छ । फरक–फरक क्षेत्राधिकारका मुद्दाहरूको सामना गर्नुपर्दा कानुनी परामर्श, प्रमाण संकलन र प्रतिरक्षा रणनीति निर्माणमा ठूलो बाधा उत्पन्न हुन्छ । यो अवस्थाले कानुनी प्रक्रियालाई प्रतिवादीलाई थर्काउने र कमजोर बनाउने रणनीतिक राजनीतिक उपकरणका रूपमा प्रयोग गरिएको हो कि भन्ने आशंका गर्न सकिने ठाउँ छ ।

त्यसो त लामिछानेविरुद्धको मुद्दाको उत्पत्ति नै राजनीति रुपबाट भएको हो ।सहकारी संसदीय छानबिन समितिको प्रतिवेदन मात्र हैन, क्षेत्रीय राजनैतिक प्रभाव पनि उत्तिकै जोडिएको जस्तो देखिन्छ । उनी २०८१ साल चैत २२ गतेदेखि निरन्तर थुनामा छन् ।

लामिछानेले आफूले सुप्रिम सहकारीबाट कुनै रकम नलिएको र आफू कुनै पनि सहकारीको सञ्चालक, सेयरधनी, बचतकर्ता, कर्मचारी वा निर्णायक भूमिकामा नरहेको दाबी गर्दै आएका छन् । यस्तो अवस्थामा सरकारी दाबीमा कर्मचारीको भूमिका पाँच महिना समय भएको देखिन्छ । उक्त समयको भूमिकामा खास नरहेको व्यक्तिले कसरी सहकारीको यति धेरै बचत हिनामिना गर्न सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा प्रश्न उठेको छ ।

मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामुक्त रहेर आफ्नो प्रतिरक्षाको तयारी गर्न पाउनु प्रतिवादीको अधिकार हो । तर लामिछानेलाई काठमाडौंमा बसेर आफ्नो प्रतिरक्षाको तयारी गर्ने अवसर अदालतले सहमति पत्र दिँदा समेत दिइएको छैन ।

रवि लामिछानेले गत साउन १३ गते नै आफ्नो भागको बिगो बुझाएर रिहाइ पाऊँ भनी बैंक जमानतसहित निवेदन दिएका थिए । सहकारी ऐनको दफा १३१(क) को भावना र अक्षर दुवैसँग मेल खाने गरी उनले निवेदन दिएक हुन् । प्रतिवादी स्वयंले मेलमिलापको पहल गर्दा पनि उनको निवेदनमाथि सुनुवाइमा निरन्तर कठोरतापूर्वक थुनामा राख्नुले कानुनको उचित प्रयोगमाथि न्यायिक नेतृत्वले प्रष्ट पार्न सक्नुपर्छ ।

यदि कानुनले पीडितको क्षतिपूर्ति र विवाद समाधानको स्पष्ट मार्ग दिएको छ भने राज्य किन कठोर र दण्डात्मक बाटोमा अग्रसर छ भन्ने विषय विचारणीय छ । यसले कानुनको मर्म र कार्यान्वयनबीचको खाडल देखाउँछ ।

रविलाई थुनामा राखेर मुद्दाको किनारा लगाउँदा पनि फरक पर्ने विषय होइन । तर सहकारीपीडितको रकम फिर्ता गर्नैपर्ने छ । रविलाई तत्काल छाडेर पनि हुने त केही होइन, तर थुनाबाहिर रहेर मुद्दाको सामना गर्छु भन्ने प्रतिवादीको हकलाई अन्त्य गर्नु हुँदैन ।

भनिन्छ कानुनका नौ सिंग हुन्छन् । एउटै विषयलाई पनि फरक फरक व्याख्या गर्न सकिन्छ । तर न्यायपालिकाले गर्ने ब्याख्या सधैं एउटै हुनुपर्छ । एउटा न्यायाधीशले एउटा निर्णय सुनाउने तर अर्कोले त्यसलाई इन्कार गर्ने हो भने न्यायिक सर्वोच्च कता पुग्छ होला ?

राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका आ–आफ्नै क्षेत्राधिकार छन् । यी निकायले आफ्नै ढंगले काम गर्नुपर्छ । तर एउटा अंकबाट प्रभावित भएर अर्कोले काम गरेमा त्यो घातक हुनसक्छ । हो, रविका विषयमा पनि न्यायालय गम्भीर हु्नुपर्छ । कानुनको उपयोग गरेरै पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउने जिम्मा अदालतको हो । तीनै निकायले कानुनको उपयोग गर्ने तर दुरुपयोग नगर्ने हो भने वा रोक्न सकियो भने देशमा कानुनी शासनको जग बलियो बनाउन सकिन्छ ।