काठमाडौँ, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज एमाले पार्टी प्रवेश गराउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितलाई प्रवेश गराउनुभएको हो । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गर्नुभयो ।
अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिनुभयो । “हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईहरु मुक्त हुनुभएको छ ।” अध्यक्ष ओलीले भन्नुभयो, ” हामी एमालेको ठुलो परिवार भएर लागौ । मिलेर देश बनाउँ । गलत काम नगरौ ।”
कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेकोे अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताउनुभयो ।










