काठमाडौँ । काठमाडौं उपत्यकामा रहेका सार्वजानिक, नदी किनारका जग्गा अतिक्रमणमा नाम चलेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
बुधवार आयोजित पत्रकार सम्मलेनका प्राधिकरणको काडमाडौं जिल्ला आयुक्त शुभाष बस्नेतले उच्चपदस्थ व्यक्ति तथा नाम चलेका विद्यालयहरुले सार्वजानिक जग्गा अतिक्रमण गरेको जानकारी दिनुभयो । उहाँले काठमाडौमा कम्तीमा पनि एक लाख रोपनी भन्दा धेरै जग्गा अतिक्रमण भएको बताउनु भयो ।
२०२१, २०४४ र २०५६ को नापीलाई अध्ययन गर्दा धोबी खोलामा मात्रै २ सय रोपनी जग्गा अतिक्रमण भएको उहाँले जानकारी दिनुभयो । तीन चरणको नापीलाई अध्ययन गर्दा ३ हजार रोपनी नदी किनारका मात्रै अतिक्रमण गरिएको उहाँको भनाई छ । ती जग्गाहरु अहिले व्यक्तिले आफ्नो नाममा दर्ता गरिसकेको स्थिति रहेको उहाँले बताउनु भयो । तिलगंगादेखि चोभारसम्म १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको उहाँको भनाई छ । ती सबै जग्गाहरु झुपडीवालाले नभई ठूलाठूला व्यक्ति, नाम चलेको स्कुल र विश्वास गर्न नै नसक्ने मान्छेले कब्जा गरेर बसेको उहाँले बताउनु भयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्ने काम शुरु गरेको पनि उहाँले जानकारी दिनुभयो । प्राधिकरणलाई जग्गा रोक्नसक्ने अधिकार रहेको उहाँले बताउनु भयो । उहाँले माधव खोलामा सार्वजानिक जग्गा मिचेर आफ्नो कम्पाउण्डभित्र लगेकाहरुको प्राधिकरणले सम्पती रोक्का गरिसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौं यति धेरै जग्गा अतिक्रमण भएको छ । मलाई त लाग्छ कम्तीमा एक लाख रोपनी जग्गा अतिक्रमण छ । हामी २०२१ सालको नापीमा जाउँ, २०४४ सालको नापीमा जाउँ र २०५६ सालको नापीलाई हेरेर डाटा निकाल्ने हो भने धोवी खोलाको २०० रोपनी जग्गा अतिक्रमण गरेको मसँग डाटा छ । तीन चरणको नापीलाई हेर्ने हो भने कम्तिमा ३ हजार रोपनी नदीका सार्वजानिक जग्गा अतिक्रमण भएको छ र मानिसहरुले अहिले दर्ता गरेर खाएको स्थिति छ । तिलगंगादेखि चोभारसम्म गयौँ भने १० वटा टुँडिखेल बन्ने जत्रो ठाउँ अतिक्रमण भएको छ । त्यो सानो झुपडीवालाले होईन, ठूलठूलाले, नाम चलेको स्कुलले । कसैलाई यो मान्छेले यस्तो गर्छ भन्ने विश्वा नै नलाग्ने स्थिति पनि छ । सार्वजानिक जग्गा अतिक्रमण गर्नेको सम्पती रोक्का गर्नसक्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरणलाई छ । यो मैले शुरुवात गरिसकेको छु । माधव खोलामा जसले सार्वजानिक जग्गा मिचेर जसले आफ्नो कम्पाउण्ड भित्र लगेका छन् । उहाँहरुको मैले सम्पती रोक्का गरिसकेको छु ।’
उहाँले चैत ३ गतेदेखि अवैध प्लटिङ्गलाई कित्ताकाट रोक्का गरेको जानकारी दिनुभयो । हाल १ हजार १५० कित्ता अवैध प्लटिङ्ग रोक्का भएको उहाँको भनाई छ ।










