१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी



अ+ अ-

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।

ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ ।

घोडा पालेरै घर खर्च धान्दै आउनुभएका ढोरपाटन नगरपालिका–९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै रु तीन हजारभन्दा माथि आम्दानी गर्दै आएको बताउनुभयो । “पहिले त मुस्किलले दिनमा रु एक हजार हुन्थ्यो, अहिले रु तीन हजारसम्म आम्दानी भइरहेको छ, ढोरपाटनमा फुलेका बुकी फुलमा घोडा चढ्ने बढेका छन् ।”

उहाँका अनुसार ढोरपाटनमा पछिल्लो समय पर्यटक उल्लेख्य रुपमा बढेका छन् । “ढोरपाटनमा आएका पर्यटकहरु घोडा नचढ्ने कुरै हुँदैन, घोडा चढेको फोटो र टिकटक मैले नै खिचिदन्छु, पर्यटकहरु खुसी भए अझ धेरै रकम खन्छिन्”, विकले भन्नुभयो, “एक पटक घोडामा चढेर फोटो तथा भिडियो बनाएको दुई सय लिन्छु, ढोर बराही दर्शन गरेको रु पाँच सय र बुकी पुगेको तीन हजारसम्म लिने गरेको छु, सबैभन्दा बढी पर्यटक घोडा चढेर ढोरपाटन उपत्यकाको फूलमा फोटो तथा भिडियो बनाउन रुचाउँछन् ।”

घोडाको खानपान घटाउदा घर खर्च गरेर एक/दुई हजार दैनिक बचत हुने गरेको छ । यहाँका स्थानीयले घारवास र घोडा सफारीबाट मुख्य आम्दानी लिने गरेका छन् । वर्खायाम भए पनि यहाँको बुकी फूल हेर्न कै लागि बुटवल, काठमाडाँै, पोखरा, बागलुङ बजारसहितका छिमेकी पालिकाहरुबाट ढोरपाटनमा पर्यटक आउने गरेका छन् ।

असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन । मङ्सिर–पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटक हिउँ खेल्नकै लागि आउँछन् । यहाँ आउने पर्यटक घोडा नचडी फर्किएको पाइँदैन । पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गर्दा घोडाधनीहरु उत्साहित रहेका छन् ।

घोडापालनमा भने चुनौती रहेपछि पछिल्लो समय आम्दानी बढेको घोडाधनी मैतराम विकको भनाइ छ । दुई घोडा पाल्नु भएका मैतरामको घर खर्च चलाउने माध्यम घोडा नै हो । उहाँले बुकीपाटनमा पर्यटकका सामग्री पुर्‍याउन आफ्ना घोडा प्रयोग गर्दै आएको बताउनुभयो ।

“हिमपात हुने तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्दछ, अघिपछि पर्यटकहरु आउनुहुन्छ, हिमपातमा घोडा हिडाउन मिल्दैन, घरमै पाल्दा कठिन हुन्छ, अहिले घोडामै पर्यटकलाई बुकीपाटन लैजाने व्यवस्था मिलाइएको छ, ढोरपाटन उपत्यकाबाट बुकी पुर्‍याएको रु तीन हजारदेखि रु चार हजारसम्म दिन्छन्”, विकले भन्नुभयो ।

वर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फष्टाउँदै आएको स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीले जानकारी दिनुभयो । सिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षमा २३ हजार पर्यटक भित्रिएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा हजारले बढी हो । रासस