काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौं उपत्यकालाई वातावरणीय र यातायातको हिसावले व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभएको छ ।
आईतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यका वातावरणीय हिसावले प्रदुषणबाट प्रभावित रहेको भन्दै यसको न्युनिकरण गर्न आवश्यक रहेको पनि बताउनु भयो । जायिकाले शुरु गरेको जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रोजेक्टले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको पनि बताउनु भयो ।
मन्त्री ठकुरीले भन्नुभयो, ‘नेपालको राजधानी हाम्रो काठमाडौं उपत्यकालाई व्यवस्थित र वातावरणीय हिसावले, ट्राफिकिङको हिसावले सबै हिसावले यसलाई व्यवस्थित नबनाउन जरुरी छ । जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको छ । यो नेपालका लागि महत्वपूर्ण शुरुवात हो । काठमाडौं उपत्यका वातावरणीय हिसावले हामी अहिले प्रदुषणबाट धेरै नै प्रभावित भएका छौँ । मानव स्वास्थ्यदेखि यसले धेरै समस्या भोग्नुपरेको छ । यसलाई न्युनिकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकारले विभिन्न काम गरिरहेको छ । यो प्रोजेक्ट निकै महत्वपूर्ण हुनेछ । यसले काठमाडौं उपत्यकाका वातावरणीय र यातायात धेरै कुरासँग जोडिएका समस्या समाधान गर्नेछ ।’
मन्त्री ठकुरीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा मन्त्रालय सदैव तयार रहेको बताउनु भयो । वातावरणीय प्रभाव मूल्यांकनका कारणले धेरै प्रक्रियाहरु झन्झटिलो भन्ने सुने गरेपनि अब समस्या समाधान हुने र ऐन, कानून संशोधनको प्रक्रियामा अघि बढिसकेको बताउनु भयो । वर्तमान सरकार विकास निर्माणका कामलाई तिब्रता र जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउनु भयो ।











