२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले रोपेको धान सुक्न थाल्यो



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ ।

पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगैको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख खाद्यान्न धानबाली सुक्न लागेको जनाउँदै किसान हरिलाल चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।

“बोरिङ पम्पिङसेटबाट पानी तानेर असार पहिलो हप्तामा नै धान रोपाइँ गरियो,” उहाँले भन्नु भयो, “दुई हप्तादेखि चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुक्न लागेको छ ।”

साउन महिनाको ९ गतेसम्म पनि प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्ण रूपमा सक्रिय हुन सकिरहेको छैन । मनसुन भित्रिने सरदर मितिभन्दा यस वर्ष १५ दिनअगाडि नै मनसुन भित्रिएको भए पनि मनसुन प्रणाली सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो, “गएको असार १६ गते धनगढी क्षेत्रमा २१२ दशमलव दुई मिलिमिटर वर्षा मापन भएकामा त्यसयता ठूलो वर्षा हुन सकिरहेको छैन ।”

कार्यालयका प्रमुख साहले जलवायु परिवर्तनको असरका कारण मनसुन पूर्ण रूपमा सक्रिय हुन नसक्ने जस्ता समस्या देखिन थालेको बताउनुभयो । पर्याप्त पानी अभावमा रोपाइँ गरिएको खेतमा झारपात उम्रिने र रोग किराको समस्या देखिने जोखिम बढेको कृषि प्राविधिकले बताएका छन् ।

जलवायु परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेरी देखिने जस्ता समस्या बढ्न थालेको बताइन्छ ।

उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

पछिल्लो दुई हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । बढेको गर्मीले दैनिक काम गर्न र हिँड्डुल गर्न असहज बनेपछि जनजीवन कष्टकर बनेको हो ।

उकुसमुकुस र छट्पटिने गर्मी बढ्दा रातिको समयमा समेत अनिदो बस्नुपर्ने बाध्यता आएको स्थानीयवासीले बताएका छन् । स्थानीय यज्ञराज भट्टले भन्नुभयो, “शीतलताका लागि पटक पटक नुहाउनु परेको छ, छट्पटिने गर्मीले पाँच दिनदेखि राति अनिदो बस्नुपरेको छ ।”

बढेको गर्मीले मजदुरी गरेर जीविका चलाउने वर्ग, वृद्धवृद्धा र स्कुले बालबालिकालाई बढी प्रभावित गरेको छ । अधिकतम तापक्रम त्यति नबढेको भए पनि सापेक्षिक आद्रता र न्यूनतम तापक्रम बढ्दा बढी गर्मीको महसुस भएको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख साहले बताउनुभयो । रासस