९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी

बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी
अ अ+ अ-

खोटाङ। दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।

फोक्सिङटारमा गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो ।

विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिनुभयो । “रसुवा–पाँचधारे सडकअन्तर्गत रसुवा–सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, उहाँले भन्नुभयो, “आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ । फोक्सिङटारमा जडान गरिएको घिर्नी साउन ८ गते परीक्षण गरेर नियमित रूपमा सञ्चालन गरिरहेका छौँ ।”

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताउनुभएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दिक्तेल–गाईघाट (१०१ किलोमिटर) सडकखण्डअन्तर्गत फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पुल बगाएपछि गत पुस २७ गतेबाट अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको थियो ।

वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक खोटाङबाट पूर्वी तराईका विभिन्न सहर जाने तथा आउने छोटो दूरीको सडक हो ।

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि घुर्मी–कटारी सडकखण्ड हुँदै पूर्वी तराईका विभिन्न जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ । घुर्मी–कटारी सडक लामो भएकाले विशेषगरी निर्माण सामग्रीका साथै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्नुपर्ने बाध्यता सृजना भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको पुल फिनिसिङ (सम्पन्न गर्न) र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न करिब १२ वर्ष कुर्नुपरेको थियो । तर, बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि सङ्घीय सरकारबाट रु ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर, बाढी पुल बगाएको दश महिना बित्न लाग्दासमेत नयाँ पुल निर्माणका लागि अहिलेसम्म ठेक्का भने खुलेको छैन ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक अहिले हिउँद्को समयमा हिलाम्मे र वर्षाद्को समयमा धुलाम्मे अवस्थामा छ । विसं २०७३ मा कालोपत्र थालिएको दिक्तेल–गाईघाट सडक ठेकेदारको लापरबाहीले सम्पन्न नभएपछि ठेक्का तोडेर पुनः अर्को निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

फोक्सिङटारबाट सिम्पानीसम्म र सिम्पानीबाट महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले पुनः रु ८६ करोड बजेट उपलब्ध गराएको छ ।

पहिलो खण्डको सडक कालोपत्रको जिम्मा रु ४२ करोड लागतमा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रु ४६ करोड लागतमा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको हो ।