२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियोेः नेता सिटौला



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा रहेको स्मरण गर्नुभएको छ ।

कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘स्मृतिमा बिपी’ विचार गोष्ठीमा उहाँले कुनै पनि वैदेशिक राष्ट्रको हस्तक्षेप सहनुहुन्न भनेर राष्ट्र र राष्ट्रियताबारे कोइरालाको स्पष्ट धारणा रहेको बताउनुभयो ।

“राष्ट्र र राष्ट्रियता भनेको जनता हो, जनताको अधिकारबिना राष्ट्र र राष्ट्रियता रहँदैन भन्ने उहाँको सोच थियो । लोकतान्त्रिक शासन पद्धतिमा कसैसँग सम्झौता गर्नुभएन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुला परेर छोडिदिनुभयो”, सिटौलाले भन्नुभयो ।

उहाँले जननायक बिपी कोइरालालाई गतिशील नेताका रुपमा बुझ्नुपर्ने भन्दै फाँसीको मुद्दा अदालतमा रहँदा पनि आफ्नो घाँटी राजासँग जोडिएको भन्दै राजासँग सहकार्य गरेको बताउनुभयो । नेता सिटौलाले राष्ट्र र लोकतान्त्रिक व्यवस्थाका लागि बिपी राजासँग मिलेको उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था मासेका कारण राजतन्त्र र राजसंस्था बिदा भएको बताउनुभयो ।

पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले पञ्चायतकालमा कोइराला परिवारले दुःख, कष्ट भोगेर पनि कांग्रेसलाई बलियो बनाउँदै बहुदलीय व्यवस्था ल्याउन भूमिका खेलेको चर्चा गर्नुभयो । बिपीको लगनशीलता, त्याग र निष्ठालाई अनुशरण गर्दै व्यवहारिक रूपमा विकास र समृद्धिमा लाग्नुपर्ने धारणा कांग्रेस केन्द्रीय सदस्य राणाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सदस्य जीतजङग बस्नेतले बिपीले गर्नुभएको योगदान, त्याग र तपस्यालाई वर्षमा दुई दिन सम्झनेभन्दा पनि हरेक दिन उहाँका सत्प्रेरणालाई अवलम्बन गर्दै देश र जनताका पक्षमा काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य धना खतिवडाले बिपीले परिकल्पना गरेअनुसारको लोकतान्त्रिक पद्धति, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास र शासन पद्धतिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, ललितपुर उपसभापति सुदर्शन घिमिरे, ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले बिपीको योगदान र कांग्रेस गर्नुपर्ने योगदानका विषय आफ्नो धारणा राख्नुभयो । रासस