२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काइवाक तेस्रो वर्षमा प्रवेश



अ+ अ-

काठमाडौँ । काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक भ्यू टावर तेस्रो वर्षमा प्रवेश गरेको छ । वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको स्काइवाक काठमाडौंको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यका रुपमा चिनिदै आएको छ ।

वार्षिक उत्सवका अवसरमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटोसहितको कप नि:शुल्क उपहार दिइने स्काइवाक काठमाडौंका अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो । कम्पनीले साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ । स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका रहेका छन् । टावरको सबैभन्दा माथि स्काई वाक रहेको छ । जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

टावरमा दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने छ ।

साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक काठमाडौंको प्रमुख गन्तव्य बनेको प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।

“यो धरहराभन्दा १६ मिटर अग्लो छ, यहाँबाट काठमाडौंको ३६० डिग्रीको दृश्यावलोकन गर्न सकिन्छ, त्यसबाहेक एकै ठाउँबाट काठमाडौं सहर हेर्दै जानकारी लिनका लागि पनि उपयुक्त गन्तव्य हो,” प्रबन्ध निर्देशक पाण्डेले भन्नुभयो ।

कम्पनीले अहिले पनि ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई शुल्क लिँदैन ।

‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ । साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्न व्यापारिक केन्द्रहरु रहेका छन् ।