३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४ करोड

नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४ करोड
अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ। प्राधिकरणको ४१औँ स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षका उपलब्धि र आगामी कार्यदिशा प्रस्तुत गरिएको हो।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। सो आर्थिक वर्षमा मात्रै राष्ट्रिय प्रणालीमा ५२९ मेगावाट विद्युत थपिएको छ।

प्राधिकरणका ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि भएर ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत र औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत रहेको छ।

प्राधिकरणले विद्युत बिक्री तथा अन्य आम्दानीबाट गत आर्थिक वर्षमा १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्रीबाट मात्रै प्राप्त आम्दानी अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

चुहावट नियन्त्रण र विद्युत निर्यातमा भएको वृद्धिका कारण प्राधिकरणको कुल नाफा १३.७० प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। यद्यपि विदेशी विनिमय दरमा भएको वृद्धि, ह्रासकट्टी र ब्याज खर्चका कारण करअघिको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको प्राधिकरणले जनाएको छ।

विदेशी विनिमय दरमा भएको वृद्धिका कारण प्राधिकरणको दायित्व अघिल्लो वर्षको तुलनामा २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ भने ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना परीक्षणको चरणमा पुगेको छ।

प्रसारणतर्फ कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै कर्णाली प्रदेश पहिलोपटक १३२ केभी प्रसारण सञ्जालमा जोडिएको छ। खिम्ती–बाह्रबिसे ४०० केभी तथा मर्स्याङ्दी–भरतपुर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएका छन्। हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आगामी कात्तिकसम्म सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ।

हाल देशभर उच्च भोल्टेज प्रसारण लाइनको लम्बाइ ७ हजार ११० सर्किट किलोमिटर पुगेको छ भने सबस्टेसनको क्षमता १५ हजार ५४१ एमभीए पुगेको छ। वितरणतर्फ काठमाडौं, भरतपुर र पोखरामा भूमिगत वितरण प्रणाली निर्माणको काम भइरहेको छ।

गत वर्ष निजी क्षेत्रका २३ आयोजनाबाट ५२८.८९ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थपिएको छ। हाल १२ हजार १३५ मेगावाट क्षमताका ५४५ आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको प्राधिकरणले जनाएको छ।

विद्युत व्यापारतर्फ नेपालले गत आर्थिक वर्षमा १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत आयात गरेको छ भने २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ। विद्युत निर्यात अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढेको छ।

भारतसँगको विद्युत व्यापारलाई थप सहज बनाउन बुटवल–गोरखपुर र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी महत्वपूर्ण निर्णय भएका छन्।

नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको अवस्थामा उक्त लक्ष्यलाई सहयोग गर्न प्राधिकरणले ठूला जलाशययुक्त आयोजना, पम्प स्टोरेज र सौर्य ऊर्जालाई प्राथमिकता दिने जनाएको छ। आगामी अवधिमा बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा ल्याउने तथा चिलिमे–केरुङ प्रसारण लाइन निर्माण सुरु गर्ने योजना प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले आगामी दिनमा आफ्नो सेवालाई डिजिटल रूपान्तरण गर्ने लक्ष्यसमेत अघि सारेको छ। यसअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डाटा सेन्टर, एआई च्याटबट तथा स्मार्ट मिटर जडानलाई तीव्रता दिइनेछ।

त्यस्तै, विद्युतको आन्तरिक खपत बढाउने उद्देश्यले हरित हाइड्रोजन उत्पादनका लागि हेटौंडामा इलेक्ट्रोलाइजर स्थापना गर्ने तथा हरित एमोनिया र मिथानोल विकास गर्ने योजना पनि प्राधिकरणले अघि सारेको छ।