९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति थापा भन्नुहुन्छः मुलुककाे भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न नेपाली सेना तत्पर



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे जंगी अड्डामा आयोजित दुई दिने पृतनापति समन्वयात्मक बैठक २०७७ सम्पन्न भएकाे छ ।

नियमित रुपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगी अड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समीक्षा, कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितीजन्य विषयहरु सम्बन्धमा प्रस्तुतिकरण र छलफल भएको  नेपाली सेनाले जनाएकाे छ ।

बैठक समापनको अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिँदै नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध रहेको बताउनुभएकाे थियाे ।

उहाँले पद्धती र प्रणालीमा आधारित संगठन निर्माणमा सम्पूर्ण सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिनु हुँदै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न निर्देशन दिनुभयो ।

साथै राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थिती सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिनुभएकाे नेपाली सेनाले जनाएकाे छ । 

बैठकमा पि.एस.ओज. रथीबृन्द, सबै पृतना हे.क्वा.का पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

यस किसिमको समन्वयात्मक बैठक र सहभागीहरुबाट प्राप्त  महत्त्वपूर्ण राय सुझावहरुले नेपाली सेनाको आगामी कार्यदिशा तय हुनका साथै नीति तथा योजना निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।